शरद ऋतुका लागि मनास्लु हिमाल आरोहणको अनुमति लिन सुरु
फाइल तस्बिर

Advertisement

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणको लागि वसन्त ऋतुलाई उपयुक्त मानिन्छ । उक्त हिमालको आरोहण गर्ने धेरै जसोको चाहाना हुन्छ । त्यस्तै विश्वको ८औं अग्लो हिमाल मनास्लुको आरोहणको लागि शरद ऋतु उपयुक्त मानिन्छ ।  

यता शरद ऋतुमा मनास्लु हिमाल आरोहणको लागि आरोहण अनुमति (परमिट) लिन सुरु भएको छ । यही हप्ताको सुरुमै दुई वटा कम्पनीले मनास्लु हिमाल आरोहणको लागि अनुमति (पर्वतारोहण अनुमति पत्र) लिएको छ । 

Advertisement

उक्त हिमाल आरोहणको लागि दुई वटा कम्पनीहरुबाट २१ जनाले आरोहणको लागि अनुमति लिएको पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले जानकारी दिए । उनका अनुसार एट के एक्स्पडिशन र मकालु अडभेन्चर नामक यही दुई वटा कम्पनीले आरोहण अनुमति लिएको छ । 

एट के एक्स्पडिशन कम्पनीबाट १५ जना र मकालु अडभेन्चरबाट ६ जना रहेका छन् । आरोहण अनुमति लिएका आरोहीहरु बेलायत, अमेरिका, भारत, जर्मनी, बेलारुस, सिंगापुर, दक्षिण कोरिया, फ्रान्स, स्विट्जरल्याण्ड, बेल्जियमका नागरिक रहेका उनले बताए । शरद ऋतुमा मनास्लु हिमालको लागि हामीले आरोेहण अनुमति दिएको यो पहिलो हो । गत वर्षको सिजनमा मनास्लु हिमाल आरोहणका लागि ३०१ जनाले आरोहण अनुमति लिएका थिए । यस वर्षको शरद ऋतुमा तीन सय जनाले आरोहण अनुमति लिने अनुमान गरिएको उनले बताए । 

साथै विभागले मनास्लु हिमाल आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन बारे पर्यटन विभाग र सरोकारवालाहरुबीच अनौपचारिक छलफल चलिरहेको र छिट्टै औपचारिक बैठक बस्ने जानकारी दिएको छ । यस सिजनको लागि मनास्लु हिमालको चुचुरोसम्मको लागि रोप फिक्सिङको जिम्मेवारी सेभेन समिट ट्रेक कम्पनीले पाएको छ । एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपाल (इओए–नेपाल) अन्तर्गत मनास्लु हिमालमा रोप फिक्सिङ (डोरी टाग्ने) को जिम्मेवारी शरद ऋतुको लागि दिएको हो । 

मनास्लु हिमालको चुचुरो सम्म रोप फिक्सिङको नेतृत्व (लिड) सेभेन समिट ट्रेक कम्पनीका एक्सपिडिसन म्यानेजर छाङ दावा शेर्पाले गर्नेछन् । मनास्लु हिमालमा रोप फिक्सिङ टोलीको लिडर छाङ दावा शेर्पा, को–लिडर तेङ्गिङ ग्याल्जेन शेर्पा, पेम्बा टासी शेर्पा, दावा शेर्पा, पाम दोर्जी शेर्पा, नामगेल दोर्जी तामाङ र आङ्देम्बा शेर्पा, रहेका सेभेन समिट ट्रेक कम्पनीले जनाएको छ । 

सेभेन समिट ट्रेक कम्पनीका अनुसार रोप फिक्सिङ टोलीको लिडर छाङ दावा शेर्पाबाहेक टोली मनास्लु आधार शिविरतर्फ लागि सकेका छन् भने लिडर छाङ दावा शेर्पा पनि अबको केहि दिनमा आधार शिविरतर्फ लाग्ने तयारीमा रहेका छन् । 

Advertisement

Advertisement