यातायात कार्यालय वीरगन्जद्वारा डेढ अर्ब राजस्व संकलन

Advertisement

वीरगन्ज । यातायात व्यवस्था कार्यालय वीरगन्जले आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ५२ करोड ५१ लख ५४ हजार १५ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा रु १७ करोड १९ लाख ७९ हजार एक सय ५१ रकम बढी राजस्व सङ्कलन गरेको हो ।

यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख कमलराज गौतमले अघिल्लो आवको तुलनामा गत आवमा राजस्व सङ्कलन उत्साहप्रद रहेको बताए । कार्यालयले आव २०७९/८० मा भने रु एक अर्ब ३५ करोड ३१ लाख ७४ हजार आठ सय ६४ रकम राजस्व सङ्कलन गरेको थियो । सो आवमा सवारीतर्फ रु एक अर्ब १९ करोड ४८ लाख १४ हजार आठ सय राजस्व सङ्कलन भएको थियो ।

Advertisement

सवारीचालक अनुमतिपत्रतर्फ भने रु १५ करोड ८३ लाख ६० हजार ६४ रकम राजस्व सङ्कलन भएको थियो । कार्यालयका अनुसार आव २०८०/८१ मा बस, ट्रक, मिनीबस, मिनीट्रक, मेसिनरी औजार गरेर कुल दुई हजार दुई सय २९ सवारीसाधन दर्ता भएका छन् । त्यस्तै सोही अवधिमा कार, जिप भ्यान, माइक्रोबस, एम्बुलेन्ससहितका सवारीसाधन भने छ सय ४५ वटा दर्ता भएका छन् ।

गत आवमा टेप्पो, अटो इ–रिक्सा भने दुई हजार नौ सय ७२ वटा दर्ता भएका छन् । मोटरसाइकल र स्कुटर भने ३९ हजार सात सय ४७ वटा दर्ता भएका छन् । त्यस्तै ट्रयाक्टरलगायत सवारीसाधन भने चार सय १३ वटा दर्ता भएका छन् । गत आवमा सबैखाले नयाँ सवारीसाधन गरेर ३८ हजार चार सय ५६ वटा दर्ता भएका छन् ।
 

Advertisement

Advertisement