‘बोर्डलाई नयाँ ढंगले अघि बढाउन लागेका छौं, नयाँ सीईओ आएकाले कामले अब गति लिन्छ’

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले बोर्डलाई पुर्नसंरचना गरी नयाँ ढंगबाट सञ्चालन गर्न आफूहरु लागिपरेको बताएका छन् । 

उनले कर्पोरेट नेपालसँगको कुराकानीमा बोर्डलाई २१औं शताब्दी सुहाउँदो बनाइने बताए । आफूहरुले भारतीय र चिनियाँ पर्यटक बढाउने कुरालाई बढी जोड दिएको बताउँदै त्यो गर्दा नेपालका सबै होटलहरु पनि भरिने बताए । 

Advertisement

सापकोटाले भने, ‘यो हिजोको पर्यटन बोर्ड होइन, आजको पर्यटन बोर्ड हो । त्यसअनुकुल बनाउन हामी लागिरहेका छौं ।’ नेपाल पर्यटनको हिसाबले एउटा महत्वपूर्ण गन्तव्य हो भन्दै उनले धेरै देशमा नभएका चिज नेपालमा रहेको बताए । 

‘यति हुँदाहुँदै पनि हामीले खासै पर्यटन क्षेत्रबाट लाभ लिन सकेका छैनौ । पर्यटकहरु आकर्षिक गर्न सकेका छैनौं । पर्यटक भित्राउन सबैभन्दा पहिला पूर्वाधारको विकास र कनेक्टिभिटिमा ध्यान दिनुपर्छ’ सापकोटाले भने, ‘नेपाल एयरलाइन्सले विभिन्न देशहरुमा सिधा उडान गर्न सके नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्राउन सकिने थियो । त्यो हुन सकेको छैन् । नयाँ जहाज थपिन सकेको छैन् । भएकै जहाजहरु पनि राम्रोसँग सञ्चालन हुन सकेको छैन् । पोखरा जाने सडक विस्तार सुरु भएको बर्षौं भइसक्यो । काम पूरा भएको छैन् । अन्य ठूला सडकमा पनि त्यस्तै समस्या छ ।’

उनले हवाई टिकटमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने कुराको आलोचना गरे । त्यसको सट्टा थोरै टुरिजम कर लगाउन सकिने सापकोटाको तर्क छ । उनले नेपालको हवाई भाडादर निकै महंगो भएको बताउँदै पर्यटन ऐन आउन ढिलाई गरिएकोमा पनि असन्तुष्टि जनाए । 

सापकोटाले भने, ‘पर्यटन ऐन हामीले लामो समयदेखि आउँछ आउँछ भनिराखेका छौं । तर अहिलेसम्म आएको छैन् । पर्यटनमन्त्री फेरिएको फेरियै हुन्छ । पर्यटन सचिव फेरिएको फेरियै हुन्छ । यो भएपछि ऐन आउन पनि समय लाग्ने भयो । मन्त्री र सचिव नयाँ आएपछि पर्यटन बुझाउनै समय लाग्छ । बुझ्न थालेपछि फेरि अर्को आइसक्छ । यस्तै समस्यामा गुज्रिंएको छ नेपालको पर्यटन क्षेत्र ।’ 

नेपाल पर्यटन बोर्ड प्रचार प्रसारको लागि स्थापना भएकोले सोही काममा बढी केन्द्रीत हुनुपर्ने उनको भनाई छ । सापकोटाले बोर्डले त्यसमा काम गरिरहेको पनि बताए । बोर्डमा नयाँ प्रमुख कार्यकारी अधिकृत आएकाले अब कामले गति लिने पनि सापकोटाको विश्वास छ । 

उनले भने, ‘म विश्वास दिलाउन चाहान्छु गत तीन–चार महिनामा हामीले भारत, चीन, थाइल्याण्ड गरी ११ वटा देशमा चार वर्षसम्म रोकेका मिशनलाई तीन महिनामा ११ वटा मिशन गयौं । अब नयाँ सीईओसँगै नयाँ कार्यक्रमहरु आएपछि नयाँ कार्यक्रमहरु पनि आउँछ ।’

बोर्डले हान, टान, नाट्टा, नारा जस्ता पर्यटनसम्वद्ध संघ–संस्थाहरुसँग मिलेर विदेशमा थुप्रै सेल्सको कार्यक्रम गर्ने, पूराना सेल्सका कार्यक्रमलाई पनि निरन्तरता दिने, केही मिशनलाई घटाउने र नयाँ ट्रेण्डहरु पनि ल्याउनले सापकोटाको भनाई छ । 

Advertisement