क्यासिनोको रोयल्टी बक्यौता नतिर्दा एभरेष्ट, र्याडिसन र याक एण्ड यतीको ‘स्टार’ नवीकरण रद्द

Advertisement

काठमाडौं । नेपालका नाम चलेका पाँच तारे होटलहरुले नै नियमित नवीकरण नगरेको पाएको छ । होटलहरुले सञ्चालन गरेका क्यासिनोको रोयल्टी (सलामी) दस्तुरवापत उनीहरुले झण्डै एक अर्ब सरकारलाई तिर्न बाँकी रहेको पर्यटन विभागले जनाएको हो । 

क्यासिनोको रोयल्टी नतिर्ने पाँच तारे होटलहरु ‘होटल एभरेष्ट, होटल र्याडिसन काठमाडौं र याक एण्ड यति होटल’ले लामो समयदेखि नवीकरण गर्न बाँकी रहेको छ । उनीहरु सबैको ‘स्टार’ नवीकरण हुन नसकेको विभागका प्रवक्ता कालीबहादुर भुजेलले बताए । उनले सम्वन्धित होटलहरुलाई बक्यौता चाँडै तिर्न ताकेता गर्दै आए पनि उनीहरुले क्यासिनोको रोयल्टी बुझाएका छैनन् । 

Advertisement

यसमध्ये र्याडिसन काठमाडौंको ४० करोड २७ लाख ५० हजार रुपियाँ, एभरेष्टको १६ करोड ९५ लाख ५८ हजार ७६७ रुपियाँ र याक एण्ड यतीको १३ करोड ३४ लाख १७ हजार रुपियाँ रहेको छ । 

‘स्टार’ नवीकरण नभएपछि होटलहरु अदालत गएका छन् । यससम्वन्धी मुद्दा अहिले विचाराधिन रहेको छ । एभरेष्टको बक्यौताको मुद्दा केन्द्रीय तहसिल कार्यालयमा पुगेकाले एभरेष्टले सोही कार्यालयविरुद्ध मुद्दा दायर गरेको छ । 

हाल नेपालमा पाँच तारे होटलको संख्या २४ वटा भए पनि केहीबाहेक बाँकीमा क्यासिनो सञ्चालन छ । यसमध्ये दरबारमार्गको होटल अन्नपूर्ण यसअघि नै निलम्बित भइसकेको, पोखराको फुलबारी रिसोर्ट लामो समयदेखि बन्द रहेको र लाजिम्पाटको साँग्रिला होटल पुननिर्माण भएकाले अहिले पाँच तारे होटल १८ वटा मात्रै रहेका छन् । 

र्याडिसन काठमाडौंको २०७४ कात्तिक १४ मा नै नवीकरण रद्द भएको थियो । रद्द भएपछि होटल मुद्दामा गएको थियो । सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि सोही आधारमा २०७९ सम्म चलेको थियो । त्यसपछि र्याडिसनले नवीकरणका लागि पटक पटक विभागमा अनुरोध गरे पनि बक्यौता नतिर्दा नवीकरण हुन सकेको छैन् । 

रोयल्टी नबुझाउँदासम्म ती होटलहरुको स्टार नवीकरण गर्ने पक्षमा विभाग नरहेको भुजेलले बताए । स्टार नवीकरण नभए पनि होटल भने सञ्चालन हुनसक्छ । तर स्टार नभएका विशेषगरी चेन होटलहरुको व्यवसाय र प्रतिष्ठामा भने आँच पुग्छ । 

त्यस्तै, २०७२ सालको भूकम्पपछि बन्द भएको होटल निकै विवाद र मुद्दामामिलामा पर्दै आएको छ ।दरबारमार्गस्थित होटल अन्नपूर्ण व्यवस्थापनको कमजोरीका कारण बन्द हुन पुगेको छ । पूरानो मोडलको यो होटल पुनर्निर्माण पनि नहुने, कर्मचारीलाई तलब सुविधा पनि नदिने, ऋण पनि नतिर्ने र सञ्चालकहरुले अन्यत्र लगानी गर्दै होटललाई उपेक्षा गर्दा बन्द हुने अवस्थामा पुगेको हो । अन्नपूर्ण होटल बन्द भएपछि पनि दुई बर्षसम्म अबैधरुपमा सञ्चालन भइरहेको क्यासिनो केही महिनाअघि बन्द हुन पुगेको छ । अनुगमन गर्दा सेवा, सुविधा सञ्चालन नभएका कारण उक्त होटल निलम्बन गरिएको विभागको भनाई छ । 

नेपालमा क्यासिनोको सुरुवात गर्ने अमेरिकी नागरिक आरडी टटललाई तत्कालिन हिंसात्मक माओवादी विद्रोही शान्ति प्रक्रियामा आउनासाथै लखेटेपछि क्यासिनोहरु लथालिंग हुनुका साथै त्यहाँ काम गर्ने मजदुरहरुको विचल्ली भएको थियो । त्यसपछि खुलेका कुनै पनि क्यासिनोहरु व्यवस्थित र नियमितरुपमा सञ्चालन हुन सकेका छैन् जसको भार होटलहरुमाथि पर्दै आएको छ । 

Advertisement