‘स्काइवेल’को आधिकारिक बिक्रेता जी मोटर्स नै, बाणिज्य र भन्सारमा एलआरआरको किर्ते कागज

Advertisement

काठमाडौं । नेपालका लागि चिनियाँ लोकप्रिय ब्राण्ड स्काइवेलले नेपालमा आफ्नो आधिकारिक बिक्रेता जी मोटर्स नै भएको बताएको छ । 

उक्त ब्राण्डको हङकङस्थित एजेन्टमार्फत डिलर लिएर नेपालमा गाडी बिक्रीको प्रयास गरेको एलआरआर समूहले आफूलाई आधिकारिक बिक्रेता देखाउने प्रयास गरेपछि विवाद सिर्जना भएको छ । 

Advertisement

स्काइवेल उत्पादन गर्ने चिनियाँ कम्पनी नान्जिङ गोल्डेन ड्रागन बस कम्पनी लिमिटेडले नेपालमा स्काइवेलको एउटा मात्रै आधिकारिक बिक्रेता जी मोटर्स भएको विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । 

तर उक्त लोकप्रिय प्रिमियम ब्राण्ड हत्याउने दाउमा रहेको एलआरआर समूहले भने भन्सार कार्यालयदेखि बाणिज्य विभागसम्म किर्ते कागजहरु पेश गरेर र विभिन्न षडयन्त्र गरेर ब्राण्ड हत्याउने प्रयासमा लागेको छ । 

लग्जरी विद्युतीय गाडी बिक्री गर्ने जी मोटर्सले पनि आफूहरु नै स्काइवेलको आधिकारिक बिक्रेता भएको बताउँदै ग्राहकहरुमा अन्योलता सिर्जना गर्नेगरी स्काइवेलको समेत मूल्यसूची सार्वजनिक गरेकोमा आपत्ति जनाएको छ । 

स्काइवेल गत वर्षदेखि नै नेपाली बजारमा भित्रिएको हो । यो गाडी नेपालमा लामो समयदेखि अटोमोवाइल क्षेत्रमा क्रियाशील जी मोटर्सका प्रवन्ध निर्देशक कैलाशबाबु गेलालले भित्राएका हुन् । नाडा अटो शो, २०२३ को अवसर पारेर उनको कम्पनीले स्काइवेल नेपाल भित्र्याए पनि अहिले उक्त लोकप्रिय ब्राण्डमा अर्को व्यापारिक समूहले आँखा लगाउँदै दुःख दिने प्रयास गरेको हो । 

प्यासेन्जर तथा एसयूभी सेग्मेन्टका ईभी आयात तथा बिक्री गर्दै आएको जी मोटर्सले २०८१ वैशाखदेखि ६२० किमी उच्च रेञ्ज प्रदान गर्ने प्रिमियम एसयूभीको बिक्री थालनी गरेको छ । हालै सम्पन्न नाडा अटो शो २०२४ मा सो कम्पनीले ५२० किमी र ४१० किमी रेञ्ज दिने अर्को प्रिमियम बिई ११ मोडेलको पनि बिक्री शुरु गरिसकेको छ । उच्चस्तरीय ईभी भएकाले नाडामा स्काइवेलका गाडिहरु अपेक्षा गरिएभन्दा धेरै बुकिङ पनि भएका थिए । 

नेपाली अटोमोबाइल बजारमा राम्रो साख बनाउँदै गर्दा र राम्रो व्यापार गर्दैगर्दा कम्पनीलाई बदनाम गर्नेगरी एलआरआर मोटर्स र एलआरआर समूहले स्काइवेलका उत्पादनलाई समेत समेट्नेगरी भन्सार प्रयोजनका लागि मूल्यसूची सार्वजनिक गरेको भन्दै जी मोटर्सले भनेको छ, ‘२०८१–४–३१ गतेको राजधानी दैनिकमा एलआरआर र एलआरआर ग्रुपले भन्सार प्रायोजनको लागि भनि प्रकाशित मूल्यसूचीको बारेमा एवम आधिकारिक इम्पोर्टर लेखी निकालिएको मूल्य सन्दर्भसुचीप्रति हाम्रो यस कम्पनीको ध्यानकर्षण भएको छ ।’

व्यवसायी गेलालले हालसम्म आधिकारिक स्काइवेल उत्पादक कम्पनी एवं एक्स्पोर्ट डिभिजन हेर्ने प्रतिनिधिले नेपालमा जी मोटर्सबाहेक अरु कोही पनि आधिकारिक बिक्रेता छैन भनेर लिखित जानकारी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र भन्सार विभागमा समेत गराईसकेको अवस्थामा बजारमा आम ग्राहकलाई भ्रम फैलाउने, हाम्रो यस कम्पनीको ख्यातीलाई असर पुर्याउने, अर्बौंको लगानी डुबाउने प्रपन्च गर्ने प्रयास भइरहेको भन्दै यस्तो काम नगर्न एलआरआर ग्रुपलाई आग्रह गरेका छन् । 

यता बाणिज्य विभाग भने दुई वटा व्यापारिक समूहबीच खेल्ने, झगडा गराउने र त्यसबाट लाभ उठाउने प्रयासमा लागेको देखिन्छ । पहिलेदेखि स्काइवेलका गाडीहरु बिक्री गर्दै आएको कम्पनीले आफ्नो आधिकारिकता प्रस्तुत गर्दागर्दै एजेन्टमार्फत गाडी ल्याएर अनधिकृतरुपमा बिक्री गर्ने प्रयासमा लागेको समूहलाई समेत बैधानिकता दिने प्रयासमा विभाग लागेको छ । 

वाणिज्य विभागको समेत मिलेमतोमा गैरकानुनी रुपमा हङकङस्थित एजेन्ट कम्पनीसँग झुठो सम्झौता गरी स्काइवेलका प्यासेन्जर कार तथा एसयूभी आयात गर्ने प्रयास गरिएको भन्दै गेलालले भनेका छन्, ‘यस्तो कार्य गैरकानुनी त छँदैछ, हामीले बिक्री बितरण गरिरहेका वस्तुको मूल्यसुचीको बारेमा बजारमा भ्रम सिर्जना गरेकोले आवश्यक कानुनी उपचारमा जी मोटर्स जान्छ ।’ 

कुनै आधिकारिकता नबुझी असल नियतले काम गर्दैगरेको व्यवसायीलाई हतोसाहित गर्ने कामकारबाही नगर्न पनि वाणिज्य विभागलाई उनले चेतावनी दिएका छन् । सरकार र सरकारका निकायले असल नियतले काम गर्ने व्यवसायीलाई सधैं संरक्षणको नीति लिनुपर्ने गेलालको तर्क छ । 

गाडी उत्पादक कम्पनीले कुनै कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्ति गरेको अवस्थामा र अर्बौं लगानी गरेका व्यवसायीलाई सहजरुपमा सुरक्षित तवरबाट व्यवसाय गर्ने वातावरण समेत सिर्जना गरिनुपर्ने उनले बताएका छन ् । नेपाली बजारमा स्काइवेल ब्राण्डका गाडीहरु बिक्री गर्दै आएको जी मोटर्सले हाल भक्तपुरको राधेराधे, काठमाडौंको नक्साल र सुनसरीको इटहरीमा शोरुम राखी गाडी बिक्री गर्दै आएको छ । undefined

Advertisement

Advertisement