सडक यातायात क्रमशः सहजतातर्फ, दाउन्नेमा भासिएको सडक एकतर्फी खुल्यो

Advertisement

काठमाडौँ । केही दिनअघिको अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठप्प काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थालेसँगै सडकयात्रामा केही हदसम्म सहजताको स्थिति बनेको छ ।

धादिङको झयाप्ले खोलाको सडकमा खसेको पहिरो पन्छाउने कार्य पूरा भएसँगै  त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग भएर गुड्ने सवारी आवागमन सञ्चालन भएको छ । पूर्वतर्फ साँगाभञ्याङ भएर बाहिरिने सवारीसाधन अरनिको राजमार्ग हुँदै चौतारासम्म तथा बिपी राजमार्गतर्फ भकुण्डेबेँसीसम्म सञ्चालनमा रहेको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए । 

Advertisement

नुवाकोटतर्फ जाने नाका खुले पनि त्यहाँबाट भने ठूला सवारीसाधन आवागमनमा केही कठिनाइ रहेको उनको भनाइ छ । दक्षिणकाली भएर उपत्यका छाड्ने सडक भने सञ्चालनमा आउन सकेको छैन । बाढीपहिरोबाट पक्की पुल बगाएका र नदीले सडक कटान गरी ठूलो क्षति पुर्याएका स्थानमा भने अझै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने छ ।

केही दिनअघिको बाढीपहिरोबाट मुलुकका ५० भन्दा बढी सडकको एक सय बढी ठाउँमा क्षति पुर्याएको थियो । सानाठूला गरी २० वटा पुल बगायो । बाढीपहिरोका कारण यात्राका क्रममा बीच बाटोमा रोकिएका यात्रुलाई गन्तव्यमा पुर्याउने कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी अहोरात्र खटिरहेका छन् । तथापि, केही राजमार्गका केही खण्डमा यातायातका साधन सञ्चालनमा आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।

यसैबीच, नजिक आइरहेका बडादसैँलगायत चाडपर्वका कारण काठमाडौँमा न्यूरोडसहितका सहरी क्षेत्रमा किनमेल गर्नेको भीडभाडले केही दिनदेखि सवारीसाधन व्यवस्थापनमा चाप बढेको छ । पछिल्ला दिन कोटेश्वर, त्रिपुरेश्वर, बानेश्वर, थापाथली, माइतीघर, पुतलीसडक, गौशला, महाराजगञ्ज चक्रपथ, गोङ्गबु, कालीमाटी र कलङ्की क्षेत्रमा तुलनात्मक रूपमा सवारी आवागमन बाक्लो देखिएको नायब उपरीक्षक कार्की बताउनुहुन्छ ।

उपत्यकाभित्रका खोला करिडोर सडकमा बाढीपछिको हिलो पन्छाउने कार्य पूरा भएसँगँ उपत्यकामा सडक यातायात व्यवस्थापन केही हदसम्म सहज हुने ट्राफिक प्रहरीको ठम्याइ छ ।

बडादसैँलगायत चाडबाड मनाउन ठूलो सङ्ख्यामा राजधानी बाहिर जाने यात्रीका सहयोग र सहजताका लागि उपत्यका ट्राफिक कार्यालयले काठमाडौँ, ललितपुर र भक्तपुरका १४ स्थानमा नागरिक सहायता कक्षको व्यवस्था गरेको छ ।  उक्त सहायता कक्ष यात्रु बिचौलियाबाट ठगिन नपरोस् र सर्वसाधारण नागरिकको यात्रा सहज र सुविधाजनक होस् भन्ने हेतुले स्थापना गरिएको कार्यालयले जनाएको छ ।

उपत्यका ट्राफिक कार्यालयले बिचौलियाबाट बच्न आधिकारिक टिकट काउण्टरबाट टिकट लिएर मात्र यात्रामा निस्कन सुझाव दिएको छ ।

दाउन्नेमा भासिएको सडकको एकतर्फी खुल्यो
यता, पश्चिम नवलपरासीको दाउन्नेमा भासिएकोको सडक एकतर्फी खुलेकोे छ । सडक मर्मत गरेर आज बिहान ९ः०० बजेदेखि यातायात एकतर्फी सञ्चालन गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । सडक मर्मतलाई निन्तरता दिई आज नै दुईतर्फी सञ्चालन गर्ने तयारी रहेको उनले बताए । 

सडक अवरुद्ध भएर यात्री अलपत्र परेपछि गएराति ११ः०० बजेदेखि नै सडक मर्मतको काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताए । सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका सम्पूर्ण टोली उक्त स्थानमा पुगेर मर्मत  सुरु गरेका जनाइएको छ ।  

अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित दाउन्ने जङ्गलमा पूर्वपश्चिम मुख्य राजमार्ग नै भासिएको छ । सोमबार साँझ सडक भासिएपछि उक्त बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो । रासस

Advertisement

Advertisement