सरकारले दुई महिनामा उठायो एक खर्ब ६९ अर्ब राजश्व, ल्याउनै सकेन अनुदान !

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को दुई महिनामा सरकारको राजश्व संकलन एक खर्ब ६९ अर्ब ५१ करोड रुपियाँ देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । 

यो राजश्व लक्ष्यको ११.५२ प्रतिशत हो । चालु आवमा सरकारले कर र गैर कर गरेर १४ खर्ब ७१ अर्ब ६२ करोड रुपियाँ राजश्व उठाउने लक्ष्य लिएको छ । साउन र भदौमा त्यसको साढे ११ प्रतिशतको अनुपातमा राजश्व उठेको देखिन्छ । 

Advertisement

समीक्षा अवधीमा कर राजश्व एक खर्ब ४५ अर्ब १९ करोड रुपियाँ र गैर कर राजश्व २१ अर्ब १९ करोड ४३ लाख रुपियाँ उठेको छ । यसैगरी अन्य माध्यमबाट तीन अर्ब १३ करोड तीन लाख रुपियाँ राजश्व उठेको देखिन्छ । 

अनुदान प्राप्ती शून्य 
समीक्षा अवधिमा सरकारको अनुदान प्राप्ती भने शुन्य छ । चालु आवमा सरकारले ५२ अर्ब ३२ करोड ६५ लाख रुपियाँ अनुदान उठाउने लक्ष्य लिएको छ ।  दुई महिनासम्म अनुदान कत्ति पनि प्राप्त भएको छैन । 

चालु आवको सुरुवाती दिनदेखि नै दुई तिहाईको सरकार छ । यो सरकारले अनुदान प्राप्ती गर्न नसकेको देखिन्छ ।

एक खर्ब ३७ अर्ब खर्च
सरकारको खर्च भने एक खर्ब ३७ अर्ब ५५ करोड २७ लाख रुपियाँ रहेको छ, यो लक्ष्यको ७.३९ प्रतिशत हो । सरकारले यो बर्ष १८ खर्ब ६० अर्ब ३० करोड रुपियाँ खर्च गर्ने लक्ष्य लिएको छ । 

सरकारको चालु खर्च ८२ अर्ब ९८ करोड ६५ लाख रुपियाँ रहेको छ । सरकारले यो बर्ष ११ खर्ब ४० अर्ब ६६ करोड चालु खर्च गर्ने लक्ष्य लिएको छ । त्यसमा यो दुई महिनामा ७.२८ प्रतिशत बजेट खर्च भएको देखिन्छ । 

यसैगरी पुँजीगत खर्च १४ अर्ब ८९ करोड ४० लाख रुपियाँ देखिएको छ । यो लक्ष्यको ४.२३ प्रतिशत हो । यो बर्ष सरकारले तीन खर्ब ५२ अर्ब ३५ करोड रुपियाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएको छ । 

यसैगरी वित्तीय व्यवस्थातर्फ ३९ अर्ब ६७ करोड २२ लाख रुपियाँ खर्च भएको छ, यो लक्ष्यको १०.८ प्रतिशत हो । यो बर्ष सरकारले वित्तीय व्यवस्थामा तीन खर्ब ६७ अर्ब २८ करोड रुपियाँ खर्च गर्ने लक्ष्य लिएको छ ।
 

Advertisement