भाडा नबढाएसम्म दशैंको बुकिङ सुरु गर्न नमानेपछि भाडा बढाउन सरकार लचक

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातको भाडा समायोजनबारे सरकारले चाँडै निर्णय लिने बताएका छन् । 

यातायात व्यवसायीले भाडा नबढाएसम्म दशैंको लागि बुकिङ सुरु गर्न नमानेपछि सरकार व्यवसायीसँग झुक्न तयार भएको हो । हरेक बर्ष दशैंअघि व्यवसायीले भाडा समायोजनलाई शर्तको कुरा अघि सार्ने गरेका छन् । 

Advertisement

बुधवार मन्त्रालयमा बैठकमा मन्त्री दाहालले अहिले भाडा समायोजनको विषय मुख्य रहेको भन्दै छिटै निर्णय लिने बताए । इन्धनको मूल्य घट÷बढ भएअनुसारको अटोमेटिक समायोजन गर्नेबारेमा पनि छलफल भइरहेको उनले बताए । 

दाहालले सार्वजनिक यातायातको भाडा समायोजन प्याकेजमै गर्नुपर्ने आवश्यकता रहेको बताए । चाडपर्वलक्षित यातायात सेवालाई सहज बनाउन अग्रिम टिकट खोलेर सहजता प्रदान गर्न पनि सम्बन्धित निकायहरुलाई उनले निर्देशन दिए । मन्त्री दाहालले सवारी चालक अनुमतिबारे ड्यु रहेका करिव २१ लाख लाइसेन्स सरकारले छापेर दिने बताए । 

उनले भने, ‘भाडा समायोजनको सम्बन्धमा मुख्यकुरा हो । यसमा हामी छिटै निर्णय गर्नेछौँ । अहिले अब ठ्याक्कै एक हातमा लिने र अर्को हातमा दिने काम नगरौँ । तर यसमा हामी गम्भीर छौँ । यसमा अटोमेटिक समायोजनको कुरा छ । इन्धनको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने गर्ने भन्ने पनि छ । समायोजन नभएको दुई, तीन वर्ष भइसक्यो । यो एउटा प्याकेजमै समायोजन गर्नुपर्छ । अब तुरुन्तै अग्रिम टिकट खोलेर यातायातलाई सहज बनाइदिनुस् । सवारी चालक अनुमति पत्रको बारेमा धेरै टाउको दुखाई गरिसकेका छौँ । के के गर्ने भनेर हामीले रोडम्याप नै बनाइसकेका छौँ ।’

मन्त्री दाहालले बढी भन्दा बढी यात्रुलाई सुविधायुक्त ढंगले यातायात सञ्चालन गर्नेगरी सरकारले काम गरिरहेको दावी गरे । 

Advertisement