दुई महिनामै लाभांश, रोयल्टी र सेवा शुल्कवापत बाहिरियो रु. एक अर्बभन्दा बढी रकम

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को भदौ मसान्तसम्म नेपालमा झण्डै १३ अर्ब रुपियाँ बराबरको वैदेशिक लगानी प्रस्ताव आएको छ । 

उद्योग बिभागबाट प्राप्त उक्त अवधिसम्मको तथ्यांकअनुसार अटोमेटिक रुट र कागजी प्रक्रियाबाट गरेर सो बराबरको विदेशी लगानी प्रस्ताव आएको हो । यो दुई महिना महिनामा अटोमेटीक रुटबाट ८६ करोड २५ लाख ६० हजार रुपियाँ लगानी प्रस्ताव आएको छ । बिभिन्न ५२ परियोजनामा सो बराबरको लगानी प्रतिवद्धता अटोमेटीक रुटबाट आएको तथ्यांकमा उल्लेख छ । 

Advertisement

त्यसमा उत्पादनमुलुक क्षेत्रका दुई परियोजनामा सात करोड ५० लाख रुपियाँ, पर्यटन क्षेत्रका आठ परियोजनामा २८ करोड रुपियाँ, सेवा क्षेत्रका तीन परियोजनामा २४ करोड रुपियाँ, पुर्वाधार क्षेत्रका एक परियोजनामा दुई करोड रुपियाँ र आईटीको ३८ परियोजनामा २४ करोड ७५ लाख ५० हजार रुपियाँ लगानी प्रस्ताव आएको छ । अटोमेटिक रुटतर्फ संख्याको आधारमा आईटीमा उच्च आर्कषण देखिन्छ । 

सरकारले गत बैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनको अवसरमा अटोमेटिक रुटबाट पनि विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था गरेको थियो । त्यस माध्यमबाट ५० करोड रुपियाँसम्मको लगानी स्वीकृत गर्न सकिन्छ । यस प्रणालीले साना लगानीकर्तालाई सहजता मिलेको विभागको भनाई छ ।

यस्तै, यो दुई महिनामा कागजी प्रक्रियाबाट थप १२ अर्ब १२ करोड २४ लाख रुपियाँ विदेशी लगानी प्रस्ताव आएको छ । बिभिन्न ९७ परियोजनामा सो बराबरको लगानी प्रस्ताव आएको छ । त्यसमा दुई ठूला र ९५ वटा साना परियोजना छन् । 

त्यसमा पर्यटनमा मात्रै ७१ वटा परियोजनामा विदेशी लगानी प्रस्ताव आएको छ । यस्तै, सेवामा १५, आईटीमा तीन, उत्पादनमा छ र कृषिमा दुई परियोजनामा विदेशी लगानी प्रस्ताव आएको तथ्यांकमा उल्लेख छ । यो प्रतिवद्धताअनुसार लगानी आएर परियोजना सञ्चालनमा भएमा ४८५ जनाले रोजगारी पाउनेछन् । 

गत आवको पहिलो दुई महिनामा १४ अर्ब ६२ करोड रुपियाँ विदेशी लगानी आएको थियो । त्यसको तुलनामा भने यसपाली विदेशी लगानी प्रस्ताव घटेको देखिन्छ । 

यस्तै, समीक्षा अवधीमा शेयर खरीद र सदस्यता सम्झौतामार्फत भने थप ५९ करोड ६२ लाख ६२ हजार रुपियाँ लगानी प्रस्ताव भएको छ । यो उद्योग बिभागमा दर्ता भएको वैदेशिक लगानी प्रतिवद्धता मात्रै हो । लगानी बोर्डमा आउने लगानी प्रतिवद्धता यसमा समावेश छैन ।

कति बाहिरियो लाभांश ? 
नेपालमा लगानी गरेबापत विदेशी लगानीकर्ताले समीक्षा अवधीमा छ करोड ४० लाख ४२ हजार रुपियाँ लाभांश लगेका छन् । यो गत आवको सोही महिनाको तुलनामा कम हो । गत आवको सोही अवधीमा २५ करोड सात लाख नौ हजार रुपियाँ लाभांश लगेका थिए । 

पछिल्लो समय देखिएको आर्थिक शिथिलताले नेपालका अधिकांश व्यापार व्यावसाय प्रभावित भएका छन् । त्यस कारण लाभांशबापत बाहिरिने रकम पनि घटेको छ । 

रोयल्टीमार्फत कति बाहिरियो ? 
विदेशी लगानीकर्ताले रोयल्टीबापत नेपाली रुपियाँमा ३५ करोड १४ लाख ६९ हजार लगेका छन् । यसैगरि, डलरमा दुई लाख ६७ हजार ७९२, भारुमा ३७ लाख ४६ हजार र युरोमा १० हजार २०० थप रोयल्टी लगेको तथ्यांकमा उल्लेख छ । 

सेवा शुल्क कति ?
यस्तै, सेवा शुल्कमार्फत समीक्षा अवधीमा ३८ करोड चार लाख २७ हजार, डलरमा २३ लाख ३४ हजार २०५ र भारुमा एक करोड ३० लाख ५३ हजार बाहिरिएको छ । परियोजना स्थापना तथा सञ्चालनमा बिभिन्न सेवा दिएबापत पनि विदेशीहरुले सम्झौताअनुसारको शुल्क पाउने गर्छन् । 

Advertisement