निजी क्षेत्रबाट बढेको उत्पादन र आयातले गर्दा ४०० युनिट पुग्यो नेपालीको प्रतिव्यक्ति विद्युत् खपत

Advertisement

काठमाडौं । नेपालको प्रतिव्यक्ति विद्युत् खपत बार्षिक ४०० किलोवाट घण्टा (युनिट) पुगेको छ । गत असार मसान्तसम्म नेपालको प्रतिव्यक्ति विद्युत् खपत ४०० युनिट पुगेको हो । 

२०८० असारसम्म प्रतिव्यक्ति विद्युत् खपत ३८० युनिट थियो । त्योअनुसार पछिल्लो एक बर्षमा प्रतिव्यक्ति विद्युत् खपत २० युनिटले बढेको देखिन्छ । निजी क्षेत्रबाट विद्युत उत्पादन बढेकाले र भारतबाट नियमितरुपमा ठूलो परिमाणमा विद्युत आयात भइरहेकाले प्रतिव्यक्ति विद्युत खपत बढेको हो । 

Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले सार्वजनिक गरेको गत आवको एक प्रतिवेदनअनुसार अहिले नेपालमा विद्युत्को पहुँच ९८ प्रतिशत छ । पछिल्लो समय नेपालमा विद्युतीय चुलोको प्रयोग बढ्दै गएको छ । विद्युतीय गाडीको प्रयोग पनि उच्च मात्रामा बढ्दै गएको छ । साथै, मोवाइल, स्मार्टवाच, टेलिभिजन जस्ता विद्युत्का माध्यमबाट सञ्चालन हुने वस्तुहरुको प्रयोग पनि बढ्दै गएको छ । त्यसले गर्दा नेपालमा प्रतिव्यक्ति विद्युत् खपत बढ्दै गएको जानकारवालाहरु बताउँछन् ।

अहिले नेपालमा बार्षिक १० अर्ब २३ करोड युनिट विद्युत् खपत हुने गरेको छ । उद्योग, व्यवसाय र कल कारखानामा समेत विद्युत्को प्रयोग बढ्दै गएको छ । त्यसले गर्दा पनि विद्युत् खपत बढाउन सहयोग पुगेको नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरु बताउँछन् । 

गत असारसम्म नेपालको प्रसारण प्रणालीमा विद्युत्को जडित क्षमता तीन हजार २४३ मेगावाट पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल सौर्य आयोजनाबाट ४९.६६ मेगावाट र लघु जलविद्युत् आयोजना ४०.२५ मेगावाट विद्युत् उत्पादन भइरहेको पनि मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार गत आवमा नेपालको विद्युत् चुहावट १३.४२ प्रतिशत देखिएको छ । 

यस्तै, असारसम्म ६६ केभीभन्दा बढी क्षमताका प्रसारण लाइनको कुल लम्बाई ६ हजार ४६२ सर्किट किलोमिटर पुगेको छ । यसैगरि ३३ केभीका प्रसारण लाइनको लम्बाई भने सात हजार ७५० सर्किट किलोमिटर पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

Advertisement