पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल प्रयोग गर्न सकिने नीति २५ बर्षसम्म कार्यान्वयन भएन

Advertisement

काठमाडौं । पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोल मिश्रण गर्ने सम्बन्धमा बहस चलिरहेका बेला नेपाल आयल निगमले १० देखि १५ प्रतिशत मिश्रण गर्न सकिने जनाएको छ । 

राजधानीमा सोमबार आयोजित इथानोलसम्वन्धी छलफल कार्यक्रम निगमको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै केन्द्रीय प्रयोगशाला प्रमुख प्रतिभा महर्जनले २०६० सालमा नै नेपालले आयातित पेट्रोलियम पदार्थमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेको र यो सम्भव रहे पनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताइन् । 

Advertisement

उनले भनिन, ʻ२०६० मंसिर २९ गतेको नेपाल राजपत्र खण्ड ५३ संख्या ३५ मा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरिएको थियो । त्यसयता बनेका इथानोल मिश्रणसम्बन्धी अध्ययन तथा सिफारिसले पनि सोही नीतिलाई अघि सारेको छ । इथानोल बर्निङ पावरयुक्त तत्व हो । यसले पेट्रोलियम पदार्थको खपत कम गराउन सहयोग पुर्याउछ भने देशबाट बाहिरिने विदेशी मुद्रालाई समेत बचत गराउछ ।ʼ

महर्जनले छिमेकी मुलुक भारत र चीनले समेत १५ देखि ३० प्रतिशतसम्म इथानोल प्रयोगलाई कार्यान्वयन गर्ने नीति बनाएकोमा नेपालले १० प्रतिशतलाई सहजै मिश्रण गर्न सकिने बताइन् । 
इथानोल मिश्रणको सन्दर्भमा अमेरिकामा १० प्रतिशत, ब्राजिलमा २७ प्रतिशत, इन्डियामा १५ प्रतिशत र चीनमा १० प्रतिशत कार्यान्वयनमा रहेको अवस्थामा नेपालले पनि यसमा जानसक्ने उनको तर्क छ । 

भारतले सन् २०३० सम्ममा इथानोलको प्रयोग कम्तीमा ३० प्रतिशत पुर्याउनले लक्ष्य राखेको छ जसका लागि भारत सरकारले इथानोल उत्पादन र ढुवानीका लागि निःशुल्क व्यवस्था गरिएको समेत महर्जनले बताइन् । 

यस्तै नेपालले पनि वातावरणमैत्री इथानोल उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न सरकारले विशेष नीति लिनुपर्ने उनले बताइन् ।

Advertisement