गोरखाको सामागाउँबासीले हेलिकप्टर उडानमा अवरोध गर्दा पर्यटकहरु अलपत्र

Advertisement

काठमाडौं । गोरखाको सामागाउँबासीले हेलिकप्टर उडानमा अवरोध गर्दा पर्यटकहरु अलपत्र परेका छन् । हेलिकप्टर उडान प्रक्रिया सहज बनाउन माग गर्दै आजबाट हेलीकोप्टर उडान बन्द गरेको सामागाउँबासी बताउँछन् । 

हेलीकप्टर उडान गर्न नदिएपछि मनास्लु हिमाल आरोहण गरी फर्किने विदेशी तथा आन्तरिक पर्यटकहरु सामागाउँमा अलपत्र परेका हुन् । सामागाउँबासीले हेलिप्याडमा ढुङ्गा राखेर हेलिकप्टर उडान बन्द गरेको छन् ।

Advertisement

यही असोज ६ गतेका दिन सामागाउँबासीले गाउँपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा लिखित रुपमा हेलीकप्टर उडानको प्रक्रिया सहज बनाउन माग गरेका थिए । उक्त माग सुनुवाई नभएपछि आजदेखि हेलिकप्टर उडान बन्द गर्न आफूहरू बाध्य भएको सामागाउँका होटल व्यवसायी मिङ्मा लामाले बताए ।

हेलिकप्टर उडान अनुमति लिन एक हप्ता समय पर्खिनुपर्छ । यसरी लामो समय उडान अनुमति लिन पर्खिनुपर्ने बाध्य रहेको उनले गुनासो पोखे । उनले थपे, ‘हेलिकोप्टर चार्टरका लागि अनुमति लिने सरकारी प्रक्रिया झन्झटिलो रहेको हुँदा सहज बनाउन हामीले माग गरेका हौं । हेली उडानको विषयमा छलफल गर्न शुक्रवार चुमनुव्री गाउँपालिका–१ सामागाउँका स्थानीयहरुको आमभेला आव्हान गरेका थियौं ।’

भेलाले सरकारको नियम अनुसार कुनै एक कार्यालयको अनुमति लिई हेलीकोप्टर चार्टर गर्ने व्यवस्था मिलाइदिन माग गरेको छ । बिरामी बाहेकका अन्य प्रयोजनका लागि हेली उडानको अनुमति दिन एकसाता भन्दा बढि लाग्ने गरेको उनीहरुको गुनासो छ । 

साथै पर्यटकलाई अनावश्यक रुपमा बिभिन्न शीर्षकमा शुल्क लिएर दुःख दिने गरेको भन्दै यस क्षेत्रलाई खुल्ला पर्यटन व्यवस्थापनका लागि आवश्यक निर्णय गर्न आफूहरुले माग गरेको लामाले सुनाए । निषेधित क्षेत्र खुल्ला गर्न र हेलिकप्टर अनुमति लिने प्रक्रियामा सुधार गर्न  उनले जोड दिए । 

उनका अनुसार उत्तरी क्षेत्र आउजाउ गर्ने हेलीमा ठाउँ रहेको खण्डमा न्यूनतम शुल्क तिरी सम्बन्धित प्रहरी तथा नेपाल सरकारको सरोकारवालाको सिफारिसमा स्थानीयवासीले हेली चढ्न पाउने व्यवस्थाका लागि सहजिकरण गरिदिन स्थानीयले माग गरेका हुन् । 

सामागाउँका बासिन्दाले माग पूरा नभएको भन्दै उडान बन्द गरेको छन् भने अर्कोतिर नेपाल सरकारका निकायहरु चुपचाप बसेका छन् । सिजनको बेला हेलिकप्टर उडान बन्द हुँदा मनास्लु हिमाल आरोहण गरी काठमाडौँ फर्कने क्रममा रहेका आरोहीहरू अलपत्र परेका छन् ।  

यस शरद ऋतुमा मनास्लु हिमाल आरोहणका लागि तीन सय ८ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ । हामीले निषेधित क्षेत्रहरुमा त्यहीका स्थानीय बासिन्दा, नेपाली नागरिकहरुलाई जान उक्त नियम लागु नगर्न र विदेशीको हकमा सो निर्णय लागु गर्न प्रस्ताव गर्दै आएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । 

उडानको लागि पर्यटन मन्त्रालयको पनि सहमति लिनु पर्ने हुँदा प्रक्रिया अझ लामो भएको हो । 

Advertisement

Advertisement