यसपाली अग्रिम टिकट बुकिङ अनलाइनबाटै, बसपार्कमा घण्टौं लाइन बस्न नपर्ने

Advertisement

काठमाडौं । दसैंलाई लक्षित गरेर लामो दुरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज १२ गतेदेखि खुल्ला हुँदैछ । 

दशैंका कारण यो बेला यात्रुको आवातजावत बढी हुन्छ, जसले गर्दा सहजै गाडी पाउने सम्भावना न्यून हुन्छ । त्यो अवस्थामा मागअनुसार गाडी व्यवस्थापन गर्न अग्रिम टिकट बुकिङ खुलाइन्छ । यो परम्परा पहिलादेखि नै छ । तर, बिगतमा यस्तो टिकट लिंदा यात्रुहरुले निकै सास्ती पाउने गरेका थिए । रातभर लाइन बसेर सर्वसाधारण यात्रुले टिकट काटेको इतिहास छ । रातभर लाइन बस्दा पनि टिकट नपाएका इतिहास पनि छन् । प्रविधिको जमनामा समेत अनलाइन टिकटको सुविधा पर्याप्त मात्रामा नहुदाँ सर्वसाधारण यात्रुले पहिलादेखि नै सास्ती पाउँदै आएका थिए । 

Advertisement

अधिकांश सिट आफैंले बुकिङ गरेर पछि यात्रुलाई बढी मूल्यमा बिक्री गर्ने व्यवसायीहरुको प्रवृतिका कारण पनि दसैंको समयमा अनलाइन टिकट बुकिङको प्रवद्र्धन हुन सकेको थिएन । तर, यसपाली अनलाइनबाटै टिकट बुकिङ गर्न मिल्ने सुविधा ल्याउने जमर्कोमा यातायात व्यवसायी र बिभिन्न अनलाइन सेवा प्रदायक प्रयासरत छन् । 

मंगलबारको बैठकले पनि अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । यसका लागि यातायात व्यवसायीहरुलाई नै पनि जिम्मेवार बनाइएको छ । यो सुविधा आएमा यात्रुहरुले टिकट बुकिङ गर्न पहिला जस्तो लाइन बस्न नपर्ने देखिन्छ । 

यद्यपि, यसमा चुनौती पनि उत्तिकै छन् । यसैपनि यसका लागि उपयुक्त प्रविधिको विकास भइसकेको छैन । त्यसमाथि प्रचलित अनलाइन प्लाटफर्मलाई उपलब्ध गराइने सिट, त्यसमा हुन सक्ने कार्टेलीङ, प्रचार प्रसारको कमी लगायतका कारणले यसमा चुनौती पनि उत्तिकै छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अनलाइनबाटै टिकट बुकिङको सुविधा ल्याउने प्रयास भइरहेको बताए । ‘यसअघि पनि बिभिन्न यातायात व्यवसायी तथा सेवा प्रदायकहरुले अनलाइनबाट टिकट काट्ने सुविधा ल्याएका छन् । तर, दसंैको समयमा त्यसको प्रभावकारीता न्यून थियो । दशैंमा यात्रुको चाप बढी हुने भएकाले अनलाइनबाटै सबै टिकट बुकिङ गराउन चुनौती नै होला,’ उनले भने, ‘तर, हामीले सक्ने जति टिकट अनलाइनबाटै बिक्री गर्ने तयारीमा छौं । यसका लागि अनलाइनबाट टिकट काट्न मिल्ने बससेवा डटकम लगायतका सेवा प्रदायकसँग निरन्तर छलफल तथा आवश्यक गृहकार्य गरिरहेका छौं । सबै टिकट अनलाइनबाटै बिक्री गर्न व्यवहारीक रुपमा चुनौती छ । यसपाली सुरुवात गर्छौ । अर्को बर्षदेखि पुर्ण रुपमा डिजीटलाइजमा जाने योजनामा छौं ।’

बिशेषगरि अहिले नेपालमा बससेवा डट कमले सार्वजनिक यातायातको टिकट अनलाइनबाटै बिक्री गर्दै आएको छ । यातायात व्यवसायीहरुले सिटको सबै कोटा दिएको अवस्थामा शतप्रतिशत अनुपातमा अनलाइनबाटटिकट बिक्री गर्न सकिने बससेवाको भनाइ छ ।

बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले यातायात व्यवसायीहरु तयार भएको अवस्थामा सबै टिकट अनलाइनबाटै बुकिङ गर्न सकिने बताए । ‘हामी प्राविधिक रुपमा तयार छौं । अब व्यवसायीहरुले कति सिट हाम्रो लागि छुट्टाउनु हुन्छ, त्यसमा निर्भर हुन्छ । सबै सिट हामीलाई दिनु भयो भने हामी गर्न सक्छौ । यात्रुहरु टिकट काट्नकै लागि बसपार्कमा गएर लाइन बस्नु पर्दैन,’ उनले भने, ‘अहिले यातायात महासंघ र व्यवसायीहरुले पनि अनलाइन टिकट बुकिङलाई प्राथमिकतामा राख्नु भएको छ । त्योअनुसार पहिलाको भन्दा बढी कोटा पाउछौ नै । यो बिषयमा व्यवसायीसँग छलफल जारी छ ।’

अहिले देशभर लामो दुरीका कति रुट र गन्तव्य छन् भनेर यकिन तथ्यांक छैन । तर, बससेवामा ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्य आवद्ध भएका छन् । दैनिक ४२ हजारभन्दा बढी सिट संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ । बससेवाले मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएछ । 

बससेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । उल्लेखित समिति तथा कम्पनीहरूका हजारौँ संख्याका बसका लाखौँ टिकट अनलाइनमार्फत् खरिद गर्न सकिने बससेवाले जनाएको छ ।  

यसैबीच बससेवाले दसैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको जानकारी पनि दिएको छ । अहिले काठमाडौँबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्यमा र पोखराबाट नेपालका सबै प्रमुख सहरहरूमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको जानकारी बससेवाले दिएको छ ।

विगतका वर्षमा पनि दसैँको समयमा यात्रुहरूलाई सहज रूपमा बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवाले अझ परिस्कृत रूपमा सजिलै टिकट काट्न सक्ने व्यवस्था गरेको दावी गरेको छ । 

प्रत्येक वर्ष दसैँमा बससेवाले टिकटको संख्या बढाउँदै लगेको बताएका खनालले यस वर्ष पनि दैनिक टिकटको कोटा बढाउने तयारी भइरहेको जानकारी दिए । ‘बुकिङ खुलेपछि टिकटका लागि बसपार्क वा काउन्टरमा जानुपर्ने बाध्यता हटोस् भन्ने हाम्रो चाहना हो,’ खनालले भने, ‘अनलाइनबाट टिकट काट्दा बस र सिटसमेत छान्न पाउने भएपछि यात्रु र दोहोरो टिकटको विवाद आउने छैन ।’

बससेवाले आफ्नो प्लेटफर्ममार्फत् टिकट काट्ने यात्रुमध्ये हरेक दिन केही यात्रुलाई आकर्षक अफर दिने तयारी गरिरहेको र यस सम्बन्धमा छिट्टै औपचारिक घोषणा गरिने बससेवाले जनाएको छ । 

बससेवाले सडकमा सवारी चापको समस्यालाई ध्यानमा राखेर यात्रु व्यवस्थापनका लागि काठमाडौँको कलंकीमा प्यासेन्जर लाउन्ज सञ्चालनमा ल्याइसकेको छ । बससेवाबाट टिकट काटेका यात्रुले कुनै पनि गन्तव्यमा जानका लागि सो लाउन्जबाट सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।
 

Advertisement

Advertisement