काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरुलाई पदमा बसिरहने छुट नरहेको बताएका छन् ।
पर्यटन दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले आफूले पनि काम गर्न नसके एक निमेष पनि मन्त्री भएर नबस्ने बताउँदै अरु पदाधिकारीले पनि बस्न नमिल्ने बताए । पाण्डेको भनाई नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीतर्फ लक्षित थियो ।
अधिकारी निगम सुधार गर्न असफल भए पनि अदालती निर्णयको आडमा निगमको कार्यकारी अध्यक्ष कायम रहँदै आएका छन् । उनलाई हटाउन मन्त्री पाण्डेले सात दिने स्पष्टीकरण सोधे पनि सर्वोच्चले यसअघि पुनर्बहाली गर्न दिएको आदेश देखाएर धम्कीपूर्ण ढंगले मन्त्रीलाई स्पष्टीकरणपत्र बुझाएका थिए । मन्त्री पाण्डेले त्यसोभन्दा अधिकारी कार्यक्रममा नै सहभागी थिए ।
कोही पनि निकायको प्रमुखहरुले काम गर्न नसके निकायमा बस्ने अधिकार नभएको मन्त्री पाण्डेले बताए । उनले विविधतापूर्ण संस्कृति र प्रकृतिलाई व्यापक बनाउने दिशामा अघि बढिरहेको पनि उनले बताए ।
मन्त्री पाण्डेले कुल गार्हस्थ उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रको योगदानलाई बढाउन चाहेको बताए । उनले निजी क्षेत्रअघि नलागेसम्म मन्त्रालयले कुनै काम गर्न नसक्ने जिकिर गरे ।
निजी क्षेत्र अघिअघि र मन्त्रालय पछिपछि रहने पाण्डेले बताए । उनले हिउँदे अधिवेशन हाम्रो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको इतिहासमा कानून बनाउने अधिवेशन हुने र हवाई नीति, पर्यटन, संस्कृति नीति बदलिने बताए ।
पाण्डेले भने, ‘हामी जोजो जुन जुन ठाउँमा छौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतले मैले काम गर्न सक्दिन भने मलाई यो मन्त्री पदमा बस्ने छुट छैन । कोही पनि निकायको प्रमुख यदि काम गर्न सक्दैन भने त्यसले त्यो निकायमा बस्ने छुट राख्दैन । त्यसका लागि कानून हेरिरहनु पर्दैन, त्यसका लागि कुनै व्यवस्था हेर्नु पर्दैन, जनता छ, जनता सार्वभौम सत्ता सम्पन्न छ । सार्वभौम सत्ता जनताले भन्यो भने म मन्त्रीको पदबाट एक निमेष पनि नरहेर निस्किने त्यो नैतिक तागत मैले देखाउनु पर्छ । त्यो दिशामा म सबै निकायका प्रमुखहरुलाई र त्यसमा रहनुभएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु ।’
उनले निजी क्षेत्रले देशभक्ति र राष्ट्रभक्तिलाई सर्वोपरी राखेर नीति र कानून बनाउन लाग्नुपर्ने बताए । निजी क्षेत्रप्रति सरकार सम्पूर्ण रुपमा सकारात्मक रहेको उनले उल्लेख गरे ।
नेपाललाई शान्तिको पर्यटकीय गन्तव्य मुलुक बनाउनुपर्ने पाण्डेले बताए । विश्व पर्यटन दिवसको नारा पर्यटन र शान्ति रहेको उल्लेख गर्दै उनले नेपालको सन्दर्भमा यो नारा निकै सान्दर्भिक रहेको र कतै नेपाललाई हेरेर यो नारा आएको हो कि भन्ने लागेको बताए ।
पाण्डेले बैदिक कालमा हाम्रा ऋषिमुनिले पृथ्वीमा शान्ति, जलमा शान्ति, आकाशमा शान्ति, वनस्पतीमा शान्तिको पक्षमा कामना गर्ने गरेको उल्लेख गरे । उनले त्यही बेलामा जलवायुको परिवर्तनले असर पृथ्वीले भोग्नुपर्ने छ र हामीले आकाश, जल, वायु सबैमा शान्ति खोज्नु पर्ने कुराको अनुमान गरेको उल्लेख गरे ।
भागवान बुुद्धले पञ्चशीलको अवधारणामार्फत शान्तिको सन्देश विश्वलाई दिएको र केहीसमय अघि नेपालमा शान्ति प्रक्रियाको अनुगमन गर्न आएको राष्ट्र संघले पनि नेपालीहरु आफै शान्ति कायम गर्न सक्षम रहेको पाण्डेले बताए । उनले भने, “वैदिक कालदेखि आधुनिक कालसम्म हामी शन्तिको पक्षमा रहेको र यो वर्षको नारा हामीलाई नै हेरेर बनाएको हो कि भन्ने लागेको छ ।”