लगातारको भारी बर्षाले देशभरको जनजीवन नराम्ररी प्रभावित, ठूलो क्षति भएको अनुमान

Advertisement

काठमाडौं । लगातारको भारी बर्षाले देशभर निकै ठूलो क्षति भएको अनुमान गरिएको छ । बिहीबारदेखि सुरु भएको असामान्य भारी बर्षा शुक्रबार दिउसो र राति उत्कर्षमा पुगेको छ । 

प्रारम्भिक विवरणअनुसार धेरै ठाउँमा डुवान, पहिरो र बाढीको समस्या देखिएको छ । सडकहरु भासिँदा र पहिरो खस्दा यातायात प्रभावित भएको छ । असोज लागेपछि दशैंको मुखमा सुरु भएको बर्षा सोमबारसम्म जारी रहनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

कतिपय ठाउँमा काटेको धान र काट्ने बेला भएको धान बर्षा र डुवानमा परेको छ बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुले भारी बर्षा गराएको हो । यो खालको ठूलो बर्षा विरलै देखिएको छ ।

शुक्रबार राति १०ः३० बजेसम्ममा देशभरका ५९ वटा बर्षा मापन केन्द्रमा चेतावनीको तह पार गरेको छ । काठमाडौं उपत्यकाका नदी तथा खोलामा आएको बाढी खतराको तहमा पुगेको छ । खोला तथा नदी किनारका वस्तीहरु बाढीले प्रभावित भएको छ भने धेरै ठाउँ डुबानमा परेको छ ।

बर्षाले झापामा चार जनाको मृत्यु भएको छ भने राजधानीमा एउटा मोटरसाइकल ढलले बगाउँदा कम्तिमा एक जना बेपत्ता भएका छन् । मोरङ, बैतडी र इलाममा पनि एक जनाको मृत्यु भएको छ । विभिन्न जिल्लामा सडक र पुल भासिएका छन् । राजधानी काठमाडौंलाई जोड्ने मुख्य राजमार्ग वीपी र पृथ्वी दुवै अवरुद्ध भएका छन् । नौबिसे–काठमाडौं खण्डमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

भारी बर्षापछि रात्रिकालिन बसहरु सञ्चालनमा सरकारले दुई दिन रोक लगाएको छ भने दिवा सेवाका बसहरु पनि खासै सञ्चालन भएका छैनन् । बर्षापछि आन्तरिक उडानहरु पनि प्रभावित भएका छन् । जलाशययुक्त कुलेखानी जलविद्युत आयोजनाको जलाशय खतराको तहमा पुगेपछि पानी खोलिएको छ । मौसमविद्हरुले आइतबारपछि मात्रै बर्षामा कमी आउने भएकाले सावधानी अपनाउन सुझाव दिएका छन् । 

Advertisement

Advertisement