अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो
फाइल तस्बिर ।

Advertisement

बागमती । वर्षासंगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौंडा–काठमाडौं र हेटौंडा–धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौंडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे र मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौंडा–सिन्धुली–धरान चतरा सडक आज बिहानबाट खुलेका छन् । 

यस्तै त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौंडा–भैसे–चित्लाङ–चन्द्रागिरि–काठमाडौं जाने सडक आइतबार सांझबाट एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । वर्षासंगै खसेको पहिरो पन्छाएपछि ती सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । 

Advertisement

सो सडकअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–५ दामनमा पहिरो जांदा सडक अवरुद्ध भएको थियो । कान्तिलोकपथ सडकको बकैया गाउंपालिका–१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आंपचौरमा पहिरोका कारण र भिमफेदी गाउंपालिका–८ स्थित वाग्मती खोलाको पुल कटान गरी सडक अझै पूर्ण रूपमा अवरुद्ध छ ।

दक्षिणकाली–छैमले–सिस्नेरी सडकअन्तर्गत इन्द्रसरोवर गाउंपालिका–३ रामचन्द्र भञ्याङमा पहिरो खसेर कुलेखानी–फाखेल–फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो । दक्षिणकाली–छैमले–सिस्नेरी सडकखण्डकै इन्द्रसरोवर गाउंपालिका–२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कुलेखानी–मार्खु भित्री सडकखण्डको इन्द्रसरोवर गाउंपालिका–१ सिम्लाङमा पहिरोका कारण थानकोट–कुलेखानी बाटो पूर्ण रूपमा अवरुद्ध छ । भीमफेदी गाउंपालिका–४ रातोमाटे, भीमफेदी–६ ढोकाफेदीमा पहिरो खसेर हेटौंडा–कुलेखानी जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिइ । अवरुद्ध अन्य सडकमा पनि पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए । 

Advertisement

Advertisement