विपी राजमार्ग दशैँअघि नखुल्ने

सूचना जारी गर्दागदै रात्रिबसहरु चलाउन नरोक्ने प्रहरीलाई कारवाही गर्दैछौंः मन्त्री दाहाल

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले असोज ११ र १२ गते सरकारको पूर्वसूचना विपरित यातायातका साधन सञ्चालन गरिएको भन्दै यस सम्बन्धाम छानविन भइरहेको बताएका छन् । 

बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दागर्दै रात्रिकालिन बस चलाइएको भन्दै सो विषय खोजीको विषय भएको बताए । 

Advertisement

विपद् भएका ठाउँमा सम्बन्धित प्रहरी निकायहरुले बस नरोकेको दाहालको भनाई छ । उनले त्यस सन्दर्भमा कारबाहीको प्रक्रिया अगाडी बढेको बताए । मन्त्री दाहालले वैकल्पिक राजमार्गबाट यात्रुहरुलाई काठमाडौं बाहिर जानुपर्दा यातायात व्यवसायीले केही रकम बढी लिनु स्वभाविक भएको भन्दै अध्याधिक भाडा बढाएमा भने अनुगमन हुने बताए । 

उनले भने, ‘यातायातको शुल्कको सम्बन्धमा अलि घुमाएर लादाखेरी अलिअलि हामीले आँखा पनि चिम्लिदिएका छौँ । सिधा बाटोको साटो अलिकति घुमाएर लाँदा थोरै शुल्क बढायो भने त त्यसलाई आँखा चिम्लिन सकिन्छ तर अत्याधिक बढायो भने त्यसको अनुगमन गर्नैपर्छ । नियमित भाडाभन्दा बढी भयो भने त्यसको अनुगमन गर्नका लागि हामीले अनुगमन संयन्त्र पनि बनाएका छौँ ।’ 

दाहालले थपे, ‘नेपाल प्रहरी र यातायात व्यवस्था विभागले समन्वय गरेर काम गरिरहेको अवस्था छ । जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दागर्दै पनि किन बस आयो र यस्तो दुर्घटना भयो भन्ने कुराको सन्दर्भमा हामी गम्भिर नै भएका छौँ । किन त्यस्तो भयो ? सम्बन्धित प्रहरी, जहाँबाट गाडी छोड्नुपथ्र्यो त्यहाँबाट किन छोडियो भन्ने सन्दर्भमा खोजिको विषय भएको छ र त्यस सन्दर्भमा कारबाहीको प्रक्रिया पनि अगाडी बढेको छ । किनभने पानी परेको बेलामा रातिको समयमा गाडी नचलाउनु भनेर एलर्ट गरिसकेको अवस्थामा पनि त्यस्तो स्थिति भयो ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध विपी राजमार्ग दशैँअघि नखुल्ने बताएको छ । सो मन्त्रालयका सचिव केशव शर्माले अवरुद्ध विपी राजमार्ग दशैँ अगाडी सञ्चालनमा नआउने जानकारी दिँदै मन्त्रालयको टोलीले स्थलगत अवलोकन समेत गरेर आएको बताए । 

यद्यपी खुलाउने प्रयास भने जारी राखिने शर्माको भनाई छ । उनले खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको उद्धार मात्र गरिने र अन्य सवारी साधनलाई चलाउन सकिने गरी खुलाउन नसकिने उनले स्पष्ट पारे । 

सचिव शर्माले भने ‘विपी राजमार्गको अवस्था देख्दाखेरी दशैँ अगाडी त्यो खुल्ने सम्भावना छैन । हामी त्यो निस्कर्षमा पुग्यौँ । काम निरन्तर गर्छौ किनभने त्यहाँ गाडीहरु रहेका छन् । गाडीका स्टाफहरु गाडी कुरेर बस्नुभएको छ भनेपछि सकेसम्म हामी प्रयास गर्दै दशैँ अगाडी अड्किएका गाडीहरु ल्याउने प्रयास गर्छौ । त्यो उद्धार मात्रै हुन्छ । सार्वजनिक गाडी छोड्नेगरी नै गर्न सकिने अवस्था हामी देख्दैनौँ । धेरै ठाउँमा बिग्रिएको छ ।’ 

असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गहरुका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएको जानकारी दिइइएको छ । त्यसमध्ये ७७४ स्थानको पहिरो हटाइ २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारु गरिसकिएको सचिव शर्माले जानकारी दिए । 

हाल ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्ने प्रयास जारी राखिएको उनले बताए । हालसम्मको प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे २ देखि ३ अर्ब लाग्ने देखिएको शर्माले जानकारी दिए । त्यस्तै क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको बताए । 

उनले अरनिको राजमार्गको लार्चा–कोदारी खण्ड ५ किमि, विपी राजमार्गको चौकीडाँडाँ–कालढुंगा खण्ड १८ किमि, मध्यपहाडी राजमार्गको दोलालघाट–राकथुम खण्ड ८० किमि, कान्ति राजपथ घपेली–बगुवा सडक खण्ड १३ किमी र मेची राजमार्गको रमिते–फिदिम खण्ड ८ किमी हालसम्म अवरुद्धको अवस्थामा रहेको जानकारी दिए । 

त्यसैगरी क्षति भएको पुलहरुमा अरनिको राजमार्गको लिपिङ, अरनिको राजमार्गको लार्चा बेलिब्रिज, विपी राजमार्गको सुनकोशी, खैरेनीटार, विपी राजमार्गको सुनकोशी, खुर्कोट, बिपी राजमार्गको सुनकोशी फोक्सिङटार, मेची राजमार्गको हँवा खोला पुल, कान्ति राजपथको वागमती पुल, माईपोखरी–सन्दकपुर ईलामको रातेखोला पुल र कान्ति राजपथको वागमती पुल रहेको उनले बताए । 

Advertisement

Advertisement