मूल्य सूचकांक अब तथ्यांक कार्यालयबाट गणना गरिने, राष्ट्र बैंकले सीमा मात्रै तोक्ने

Advertisement

काठमाडौं । अब ‘उपभोक्ता मूल्य सूचकांक’ अब राष्ट्रिय तथ्यांक कार्यालयबाट गराउने  तयारी गरिएको छ । अहिले नेपाल राष्ट्र बैंकले नै मूल्य सूचकांक र मुद्रास्फीति गणना गर्दै आएको छ । 

अब भने राष्ट्रिय तथ्यांक कार्यालयलाई यो जिम्मेवारी हस्तान्तरण गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले मूद्रास्फीतिको लक्षित सीमा मात्रै तोक्ने र सूचकांक गणना गर्ने काम तथ्यांक कार्यालयलाई हस्तान्तरण गर्ने तयारी भइरहेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । 

Advertisement

ढिलो–चाँडो तथ्यांक कार्यालयबाटै मूल्य सूचकांक गणना हुने र राष्ट्र बैंकले लक्षित सीमा मात्रै निर्धारण गर्ने उनको भनाइ छ । अहिले भने दुवै काम राष्ट्र बैंकले नै गर्दै आएको छ । 

राष्ट्र बैंकको स्रोतकाअनुसार अझै केही समय यी दुवै काम राष्ट्र बैंकले नै गर्नेछ । तर, निकट भविष्यमा केन्द्रीय बैंकले लक्षित सीमा मात्रै निर्धारण गर्ने र मूल्य सूचकांक गणना राष्ट्रिय तथ्यांक कार्यालयबाट हुने स्रोतले बतायो । 
 
राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८१–८२ को साउनदेखि नयाँ आधार बर्ष २०८०–८१ अनुसार ‘उपभोक्ता मूल्य सूचकांक’ गणना गर्न सुरु गरेको थियो । यसअघि २०७१–७२ लाई आधार वर्ष मानेर मूल्य सूचकांक गणना गरिन्थ्यो । अहिले आधार बर्ष २०८०–८१ अनुसार उपभोक्ता मूल्य सूचकांक गणना गर्न सुरु गरिएको छ । 

यसै अनुसार चालु आवको साउनमा मूल्य सुचकांक १०३.२३ विन्दुमा देखिएको छ । मुद्रास्फीति भने ४.१ प्रतिशत देखिएको छ । त्रिभुवन विश्वविद्यालयको तथ्यांक विभाग, केन्द्रीय तथ्यांक कार्यालय र राष्ट्र बैंकको संयुक्त कमिटिले उपभोक्ता मूल्य सूचकांक तयार गरेको थियो । 

त्यसमा तथ्यांक कार्यालयको राष्ट्रिय जीवनस्तर सर्वेक्षणलाई पनि आधारमा बनाइएको थियो । तर, निकट भविष्यमै यस्तो सूचकांक राष्ट्रिय तथ्यांक कार्यालयबाट गणना गराउने योजना रहेको छ ।
कार्यालयले गर्ने राष्ट्रिय जीवनस्तर सर्वेक्षणसँग अन्तरआवद्ध गरेर मूल्य सूचकांक गणना गरिने योजना छ । 

मूल्य सूचकांकलाई चाहिने सुचनाहरु राष्ट्रिय जीवनस्तर सर्वेक्षणमा पनि समावेश गरिएको छ । साउन महिनाको मूल्य सुचकांक पनि तथ्यांक कार्यालयको राष्ट्रिय जीवनस्तर सर्वेक्षणको आधारमा समेत बनाइएको थियो । 

‘राष्ट्र बैंकको काम मौद्रिक नीति बनाउने, वित्तीय क्षेत्रको नियमन, सुपरीवेक्षण गर्ने, वित्तीय सेवाको विस्तार गर्ने, वित्तीय सेवा गुणस्तर गर्ने लगायतका हुन् । सैद्धान्तिक रुपमा मूल्य सूचकांक गणना गर्ने काम राष्ट्र बैंकको होइन । विदेशमा पनि केन्द्रीय बैंकले मूल्य सूचकांक गणना गरेको पाइदैन,’ स्रोतले भन्यो, ‘अब राष्ट्र बैंकले पनि मूल्य सूचकांक गणना गर्ने काम गर्दैन । आवश्यक प्रक्रिया पूरा गरेर तथ्यांक कार्यालयलाई नै यो जिम्मेवारी हस्तान्तरण गर्छौ । राष्ट्र बैंकले मुद्रास्फीतिको सीमा भने तोक्ने छ ।’

यता तथ्यांक कार्यालयका अधिकारीहरु पनि आफूहरुले गर्ने सर्वेक्षण बढी यथार्थपरक हुने बताउँछन् । राष्ट्र बैंकले ७७ जिल्लाको ८७ वटा बजार क्षेत्रबाट सूचना संकलन गरेर मूल्य सूचकांक गणना गर्न सुरु गरेको छ । पहिला ५० जिल्लाको ६० वटा मात्रै बजार क्षेत्रबाट सूचना संकलन गरिन्थ्यो । तर, तथ्यांक कार्यालयले वडास्तरसम्मै गएर जीवनस्तर सर्वेक्षण गर्दै आएको छ । त्यो अवस्थामा तथ्यांक कार्यालयबाट गर्दा मूल्य सुचकांकको बास्तविक अवस्था देखाउन सकिने उनीहरुको दावी छ । 

Advertisement

Advertisement