काठमाडौं । वाणिज्य बैंकहरुले गर्ने शेयर कारोबार र विदेशी मुद्राको कारोबारबाट हुने खुद आम्दानी चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो त्रैमासमा ५१.६३ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरुको प्रथम त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
हाल नेपालमा २० वाणिज्य बैंक छन् । चालु आवको पहिलो त्रैमासमा उनीहरुको नेट ट्रेडिङ इनकम दुई अर्ब १३ करोड ६९ लाख रुपियाँ छ, जुन गत आवको सोही अवधिको भन्दा ५१.६३ प्रतिशत बढी हो ।
गत आवको सोही अवधिमा बैंकहरुको यस्तो आम्दानी एक अर्ब ४० करोड ९३ लाख रुपियाँ थियो । गत आवभर भने ६ अर्ब आठ करोड आठ लाख रुपियाँ यस्तो आम्दानी रहेको थियो ।
बैंकहरुको नेट ट्रेडिङ इनकममा मुख्यत शेयर कारोबार र विदेशी मुद्रा कारोबारबाट हुने नाफाको तथ्यांक समावेश हुन्छ । बैंकहरुले शेयर बजारमा लगानी गरेर पनि नाफा कमाएका हुन्छन्, जुन नेट ट्रेडिङ इनकममा राखिन्छ । यसैगरी विदेशी मुद्राको कारोबार पनि बैंकहरुले गर्छन् । त्यसमा हुने नाफा पनि यसमै समावेश गरिन्छ ।
पहिलो त्रैमासमा नेपाली शेयर बजार बढेको थियो । त्यो अवस्थामा बैंकहरुले शेयर कारोबारबाट राम्रो नाफा कमाएका छन् । यसबीचमा डलर लगायतका विदेशी मुद्राको मुल्य पनि बढेको छ । त्यो अवस्थामा विदेशी मुद्राको कारोबारबाट पनि बैंकहरुको आम्दानी बढेको छ । समीक्षा अवधीमा नेट ट्रेडिङ इनकम उच्च मात्रामा बढेको बैंकरहरु बताउँछन् ।
समीक्षा अवधीमा कृषि विकास बैंकको यस्तो आम्दानी धेरै छ । उक्त बैंकले ३३ करोड सात लाख ७६ हजार रुपियाँ आम्दानी गरेको छ । दोस्रो नम्बरमा सानिमा बैंक छ । उक्त बैंकको नेट ट्रेडिङ इनकम १८ करोड ८० लाख ५९ हजार रुपियाँ छ । तेस्रो स्थानमा रहेको नविल बैंकले यस अन्तरगत १७ करोड ३३ लाख ७२ हजार रुपियाँ आम्दानी गरेको छ ।
तर, राष्ट्रिय वाणिज्य बैंकको यो खाता एक करोड ८ लाख ६२ हजार रुपियाँले नोक्सानीमा छ ।
कुन बैंकको नेट ट्रेडिङ इनकम कति ?