काठमाडौं । भ्रष्टाचार मुद्दामा सफाई पाए पनि तत्कालीन मुख्य सचिव डा. बैकुण्ठ अर्याल राजीनामा दिने मनस्थितिमा पुगेका छन् ।
आफू निलम्बनमा परेपछि सरकारले अहिलेसम्म २ जनालाई मुख्उ सचिव नियुक्त गरिसकेको छ । आफू निर्दोष रहेको र अदालतबाट सफाइ पाउनेमा ढुक्क रहेका अर्यालले सफाइ पाए पनि अब सरकारी सेवामा नरहने भन्दै आजभोलिमै राजीनामा दिने मनस्थिति बनाएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
अदालतबाट सफाइ पाएपनि उनले मुख्यसचिव पदमा रहेर सेवा गर्ने अवसरबाट बञ्चित गरिएपछि राजीनामा दिने मनस्थिति बनाएको बुझिन्छ ।
उनी मुख्यसचिवमा बहाल रहेकै अवस्थामा गत असार ९ गते अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्नको आरोप लागेपछि उनी निलम्बन भएका थिए । तर गत कात्तिक १४ गते उनलाई अदालतले सफाइ दिएको थियो ।
सफाइ पाएसँगै उनलाई गरिएको निलम्बन फुकुवा गर्दै मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगमा विशिष्ठ श्रेणीको मुख्य सचिव सरहको पद सिर्जना गर्दै सरुवा गरेको थियो ।
अर्याल निलम्बनमा परेपछि लीलादेवी गड्तौला निमित्त हुँदै असार ३१ गते मुख्य सचिव नियुक्त भएकी थिइन् । उनी अवकास भएपछि भदौ १३ गते एकनारायण अर्याल मुख्य सचिव नियुक्त भएका छन् ।