साढे पाँच वर्षपछि टिमुरे सुख्खा बन्दरगाह निर्माणले लियो गति, असारभित्र सञ्चालनमा आइसक्ने

Advertisement

काठमाडौं । उत्तरी नाका रसुवागढी (केरुङ्ग) स्थिति निर्माणाधिन टिमुरे सुख्खा बन्दरगाहको निर्माण कार्य करिब ६५ प्रतिशत सम्पन्न भएको छ । २०७६ वैशाखदेखि निर्माण कार्य सुरु भएको सुख्खा बन्दरगाहले साढे पाँच वर्षपछि गति लिएको हो ।

त्यसो त कोभिड–१९ को महामारीबाट यस परियोजना करिब दुई वर्ष प्रभावित बन्न पुग्यो । योसँगै केही प्राविधिक झमेला समेत बेहोरेको परियोजनाले विभिन्न आरोह अवरोहकाबीच गती लिएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । 

Advertisement

‘भोटेकोसी खोलाको किनारामा निर्माणाधिन बन्दरगाहमा लामो रिटेनिङ्ग वाल उठाउनुपर्ने र सो पश्चात ढुंगा–माटोले फिलिङ्ग (भर्नुपर्ने) थियो । सो भाग चट्टानी क्षेत्रमा पर्ने हुँदा आवश्यक ढुंगा माटोको अभावमा सुरुवाती चरणमा आयोजना केही समस्या परेको थियो । तर, पछि विभिन्न हाइड्रोपावर परियोजनाहरुसँगको सहकार्यमा ल्याण्ड फिलिङ्ग गरियो र काम अघि बढ्यो । अहिले सुख्खा बन्दरगाह निर्माण कार्यले गति लिएको छ’ इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक ई.आशिष गजुरेलले कर्पोरेट नेपालसँग भने ।

साच्चै, पछिल्लो समय सुख्खा बन्दरगाह निर्माण कार्यले तीब्रता पाएको छ । 

null

नेपाल र चीनको सीमाना रसुवा जिल्लाको टिमुरेमा बन्दैगरेको सुख्खा बन्दरगाह चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बन्न लागेको हो । आयोजनाको कुल लागत १२४ मिलियन आरएमबी (चिनियाँ युआन) अर्थात् करिब दुई अर्ब ३१ करोड नेपाली रुपियाँ रहेको छ । 

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीन सरकारबीच १६ अक्टुवर, २०१४ मा यस परियोजना निर्माणका लागि पहिलो पटक सम्झौता भएको थियो । यसलगत्तै १०, अप्रिल २०१५ मा अर्थ मन्त्रालयसँग लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएकोमा करिब चार वर्षपछि २ मे, २०१९ मा नेपाल सरकार र चीन सरकारको बीच इप्लिमेन्टेशन मिनटस्मा पुनः हस्ताक्षर भएको थियो । 

२०७० फागुन २ गते (१४ फेब्रुअरी, २०१३) मा पुरक सम्झौता भएर अघि बढेको यस परियोजनाको समयावधि २०८२ जेठ २४ गतेसम्म रहेको छ । २०८१ कात्तिक मसान्तसम्म करिब ६५ प्रतिशत काम सम्पन्न भइसकेको परियोजनाको काम तोकिएको समयभित्रै सम्पन्न हुने र असारसम्ममा सञ्चालनमा आइसक्ने कार्यकारी निर्देशक गजुरेलले कर्पोरेट नेपालसँग बताए । 

‘हालसम्म सुक्खा बन्दरगाहको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भइसकेको छ । सोमध्ये भोटेकोशी खोलातर्फ र सडकतर्फको रिटेनिङ्ग वालको निर्माण कार्य सम्पन्न  भैसकेको छ । सडक निर्माण कार्य पनि करिब ९० प्रतिशत सम्पन्न भइसकेको छ’ गजुरेलले भने । 

गजुरेलका अनुसार कार्गो गोदाम, लिटिगेशन गोदाम र इन्सपेक्सन सेडको निर्माण कार्य पनि ९० प्रतिशत सम्पन्न भएको । यस्तै, बन्दरगाहको प्रशासनिक भवनको  निर्माण कार्य ५० प्रतिशत सम्पन्न भइसकेको छ भने हाल उक्त भवन क्षेत्रमा इलेक्ट्रिकल, सेनिटरी, खानेपानी तथा पेभमेन्टको काम भैरहेको छ । सुक्खा बन्दरगाहको बाँकी काम आगामी असारसम्ममा सम्पन्न भई इन्टरमोडल यातायात विकास समितिको जिम्मेवारीमा समेत आइसक्ने कार्यकारी निर्देशक गजुरेलले दाबी गरे ।

‘करार सम्झौता अनुसार आयोजनाको अवधि २०८२ जेठ २५ गते (६ जुन, २०२५) सम्म हो । तोकिएकै समयभित्र काम सम्पन्न हुनेमा हामी विश्वस्त छौं’ गजुरेलले भने, ‘नेपाल सरकारमार्फत निर्माणकर्ता चीनले तोकिएकै समयभित्र सुख्खा बन्दरगाह समितिलाई हस्तान्तरण गर्नेछ ।’

रसुवाको गोसाइकुण्ड गाउँपालिका टिपुरेमा निर्माणाधिन सुक्खा बन्दरगाह कूल ५० हजार ९०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । सुक्खा बन्दरगाह क्षेत्रमा संयुक्त निरीक्षण सेड, सामान राख्ने गोदाम, लिटिगेशन सेड, क्यान्टिन, प्रशासनिक भवन रहनेछन् भने सोही क्षेत्रमा करिब ३०० सवारी साधन अट्ने पार्किङ्ग स्थलसँगै अन्य भौतिक संरचनाहरु समेत निर्माण गरिदैछ । 

nullnullnull

Advertisement

Advertisement