कर्जा प्रवाहमा निराशाजनक अवस्थाः बैंकहरुले चार महिनामै लिए रु. १०८ खर्ब निक्षेप सुविधा

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट १०७ खर्ब ७५ अर्ब ९५ करोड रुपियाँ बराबरको निक्षेप सुविधा लिएका छन् । 

बैंकहरुले ‘राख्ने र झिक्ने’ मोडलमा साउन, भदौ, असोज र कात्तिकमा एक हजार ३६३ पटक गरि सो बरारबको निक्षेप सुविधा लिएका हुन् । त्यसमा बैंकहरुले १०४ खर्ब ४६ अर्ब ९५ करोड रुपियाँ फिर्ता लगि सकेका छन् । बाँकी तीन खर्ब २९ अर्ब रुपियाँ राष्ट्र बैंकमै राखिएको छ । निक्षेप अवधी सकिएपछि (परिपक्व भएपछि) त्यो पनि बैंकहरुले व्याजसहित फिर्ता पाउने छन् ।  

Advertisement

गत आर्थिक वर्षभरमा बैंकहरुले ४७ खर्ब ७३ अर्ब ६० करोड रुपियाँ बराबरको निक्षेप सुविधा लिएका थिए । तर, चालु आवको हालसम्म आउँदा बैंकहरुले त्यो भन्दा पनि धेरै निक्षेप सुविधा लिइसकेका छन । 

बैंकहरुले निक्षेप संकलन र स्थायी निक्षेप सुविधा अन्तर्गत राष्ट्र बैंकमा सो बराबरको निक्षेप राखेका हुन् । निक्षेप संकलनमा राष्ट्र बैंकले निश्चित दिन तोकेर बोलकबोल बिधिमार्फत बैंकहरुमा भएको अधिक तरलता तान्ने गर्छ । एसडीएफमा बैंकहरुले तोकिएको दिनमा आफ्नो इच्छाअनुसारको रकम केन्द्रीय बैंकमा निक्षेपको रुपमा राख्न सक्छन् । 

समीक्षा अवधीमा बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडीएफ)अन्तर्गत मात्रै राष्ट्र बैंकमा ९९ खर्ब ६८ अर्ब ६५ करोड रुपियाँ निक्षेप राखेका छन् । एक हजार ३४० पटक गरेर बैंकहरुले राष्ट्र बैंकबाट सो बराबरको स्थायी निक्षेप सुविधा लिएका हुन् । 

यस अन्तर्गत ९८ खर्ब सात अर्ब ७५ करोड रुपियाँ रकम फिर्ता भइसकेको छ । अब यसअन्तर्गत राष्ट्र बैंकमा एक खर्ब ६० अर्ब ९० करोड रुपियाँ रकम बाँकी छ । त्यो परिपक्क भएपछि फिर्ता हुनेछ । 

राष्ट्र बैंकले गत फागुन १ देखि पहिलो पटक एडीएफ कार्यान्वयनमा ल्याएको थियो । राष्ट्र बैंकले तोकिदिएको मापदण्ड र दिनमा बैंकहरुले निक्षेप राख्न प्रस्ताव गरेमा राष्ट्र बैंकले अस्वीकार गर्न पाउदैन । यसमा राष्ट्र बैंकले तीन प्रतिशत व्याज पनि दिनुपर्छ । 

पछिल्लो समय कर्जाको माग न्यून हुँदा बैंकहरुलाई तरलता व्यवस्थापन गर्न धौधौ भएको थियो । यो निराशाजनक स्थितिले देशको अर्थतन्त्र नै गम्भीर मोडमा रहेको दर्साउँछ । आर्थिक शिथिलताका कारण कर्जा माग नहुँदा बैंकहरुमा पैसा थुप्रिएकै छ । 

त्यो अवस्थामा बैंकहरुलाई एसडीएफमार्फत पुँजी परिचालन गर्न सहज भएको बताइन्छ । यसले सामान्य रुपमा भए पनि राहत मिलेको बैंकरहरु बताउँछन् ।

बैंकहरुले हप्तामा तीन पटक अर्थात् प्रत्येक आइतबार, मंगलबार र बिहीबार यस्तो सुविधा पाउनेछन् । आइतबार जम्मा भएको पैसा मंगलबार, मंगलबार जम्मा भएको निक्षेप बिहीबार र बिहीबार जम्मा भएको रकम आइतबार परिपक्व भई भुक्तानी गरिने छ ।

यस्तै, समीक्षा अवधीमा बैंकहरुले निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकमा आठ खर्ब सात अर्ब ३० करोड रुपियाँ निक्षेप राखेका छन् । राष्ट्र बैंकले यस अन्तरगत २३ पटक गरेर १२ खर्ब ४५ अर्ब रुपियाँ निक्षेप राख्न प्रस्ताव गरेको थियो । 

त्यसमा बैंकहरुले आठ खर्ब रुपियाँ बराबरको निक्षेप राखेका छन् । यस अन्तरगत छ खर्ब ३९ अर्ब २० करोड रुपियाँ फिर्ता पनि भइसकेको छ । बाँकी एक खर्ब ६८ अर्ब १० करोड रुपियाँ भने परिपक्क भएपछि फिर्ता हुनेछ । राष्ट्र बैंकले आज (मंसिर २) पनि बैंकहरुबाट ५० अर्ब रुपियाँ निक्षेप तान्न बोलकबोल गर्दैछ ।

आर्थिक शिथिलताका कारण कर्जाको माग न्यून भएपछि अहिले बैंकहरुमा खर्बौं रुपियाँ लगानीयोग्य पैसा थुप्रिएको छ । त्यो अवस्थामा बैंकहरुले राष्ट्र बैंकको निक्षेप सुविधा अन्तर्गत रहेर आफ्नो अधिक तरलता व्यवस्थापन गर्दै आएको देखिन्छ । 

Advertisement

Advertisement