पाकिस्तान पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा

Advertisement

काठमाडौँ: पाकिस्तान पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पुगेको छ। नेपाली समय अनुसार बुधबार राति सम्पन्न पहिलो सेमीफाइनलमा आयोजक इंगल्याण्डलाई ८ विकेटको नमीठो पराजय चखाउँदै पाकिस्तानले आठौं संस्करणको फाइनलमा स्थान बनाएको हो।

गएका वर्षहरुको रेकर्ड हेर्ने हो भने पाकिस्तान सन् २०००, २००४ र २००९ मा सेमिफाइनलबाटै बाहिरिएको थियो। पाकिस्तानले अब उपाधिका लागि भारत र बंगलादेशबीच आज सम्मपन्न हुने दोश्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।

इंगल्याण्डले दिएको २ सय १२ रनको सामान्य लक्ष्य पाकिस्तानले मात्र दुई विकेट गुमाएर भेट्टायो ।

इंगल्याण्डको कार्डिफ क्रिकेट खेल मैदानमा टस जितेर पाकिस्तानले फिल्डिङ रोजेको थियो भने पहिले ब्याटिङ गरेको घरेलु टोली इंगल्याण्ड एक बल बाँकी छदै २ सय ११ रनमा अलआउट हुन पुगेको थियो ।

यसअघि समूह चरणमा उत्कृष्ट ब्याटिङ गरेको इंगल्याण्डका कुनै पनि खेलाडीले पाकिस्तान विरुद्ध अर्धशतक बनाउन सकेनन्। पाकिस्तानी बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि इंगलिस इनिङ्स कम स्कोरमा खुम्चिएको हो ।

इंगल्याण्डका लागि जोए रुटले सर्वाधिक ४६ रन बनाए भने ओपनर ज्यासन रोएको स्थानमा पहिलो पटक मोका पाएका जोनी बेएरस्टोले ४३ रन जोडे। यस्तै बेन स्टोकले ३४ तथा कप्तान इयान मोर्गनले ३३ रन बनाए।

पाकिस्तानका हसन अलीले ३ तथा जुनैद खान र रुमन रइसले २-२ विकेट लिए।

२ सय १२ रनको लक्ष्य पाकिस्तानले ३७.१ ओभरमा पूरा गर्दा दुई खेलाडीले अर्धशकत पूरा गरे। ओपनर अजर अलीले सर्वाधिक ७६ रन बनाए भने अर्का ओपनर फखर जमानले ५७ रन जोडे। अजर र फखरले पहिलो विकेटका लागि १ सय १८ रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए। यस्तै बाबर अजाम ३८ तथा मोहम्मद हाफिज ३१ रनमा नटआउट रहे।

१० ओभर बलिङ गर्दा ३५ रन मात्र दिएर ३ विकेट लिएका पाकिस्तानका हसन अली म्यान अफ दी म्यच भए ।

Advertisement

Advertisement

Advertisement