काठमाडौं: भारतमा पाँच सय र हजार दरका भारतीय रुपियाँमा अमौद्रीकरण (नोटमाथिको प्रतिवन्ध) लागे पछि पछिल्लो पटक नेपाल प्रहरीले त्यस्ता अवैध नोट नेपाल भित्राएर यसलाई साट्नका लागि मानिसहरु प्रयोग हुन थालेको जनाएको छ।
व्यक्तिसंग रहेको २५ हजार भारुसम्म नेपालको केन्द्रिय बैंक राष्ट्र बैंकले साट्ने भनिएपनि हालसम्म त्यसको केहि प्रगति हुन सकेको छैन तर भारत हुँदै नेपाल छिरेका त्यस्ता अवैध पाँच सय र हजारका नोट व्यक्तिको हात हातमा पुर्याउन अहिले भारतीय र नेपाली नागरिकहरु सक्रिय रहेको प्रहरीले जनाएको हो ।
प्रहरीले गत शुक्रबार मात्रै तीन छुट्टा छुट्टै ठाउंबाट २० लाख ५६ हजार अवैध भारतीय रुपियाँ बरामद गरेको थियो । बरामद भएका भारु ५ सय र १ हजार दरका नै थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवि) ले दुई जनालाई पाँच लाख, महानगरीय विमानस्थल सुरक्षा कार्यालयले एक जनालाई चार लाख र महानगरीय अपराध महाशाखाले चार जनालाई २० लाख ४७ हजार बराबरका ती नोटसहित पक्राउ गरेको थियो ।
भारत सरकारले गएको कार्तिकबाट भारतमा पाँच सय र हजारका नोट प्रतिबन्धित गरिसेको छ छ तर नेपालमा यी नोट बरामद हुने क्रम भने जारी नै छ ।
अहिलेसम्म चार करोड ४१ लख १५ हजार पाँच सय बराबरका नोट बरामद भइसकेका छन् । सशस्त्र प्रहरी बलले चार र नेपाल प्रहरीले २६ ठाउमा ती नोट बरामद गरी कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा बुझाएका थिए । यसक्रममा ४७ जना पक्राउ परेका थिए । बरामद धेरै नोट भारतबाट नेपाल भित्रिएपछि प्रहरीको नजरमा परेका हुन् ।
भारतमा प्रतिबन्धित नोट साट्ने समय सक्किसकेकाले त्यहा अब यी नोट खोटा हुन् । नेपालले देशमा भएका नोट सटही गर्न भारतसंग कुराकानी गरिरहेकाले यहाँ सटही हुने आशमा भित्रिएका हुन् , सिआइविकी प्रहरी प्रवक्ता मीरा चौधरीले भनिन् ।
पक्राउ परेकासंग बयान लिएका राजस्व अनुसन्धानका एक अधिकारीका अनुसार बरामद नोट भारतबाटै भित्रिएका हुन् ।
भारतीय नागरिकसंग मिलेमतो वा नेपालीले भारतीयसंग सस्तोमा यस्ता नोट खरिद गरी ल्याएको पाइएको पनि उनले जानकरी दिइन ।
एकैचोटि सबैभन्दा धेरै दुई करोड १६ लाख ६१ हजार बराबरको नोट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जेठ ३ गते चावेलमा बरामद गरेको थियो । जसमा १५ जना पक्राउ परेका थिए । संलग्नले प्रतिनोट १/२ भारुमा भारतमै खरिद गरी भित्र्याएको बयान दिएका थिए । नेपालमा साट्न सके धेरै मुनाफा हुने लोभमा यस्तो गरिएको तिनले बताएका थिए ।