काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले विवादमा रहेको नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको छ । आइसीसीको संयुक्त अरब इमिरेट्स (यूएइ)मा भएको बोर्ड बैठकले क्यानलाई निलम्बन गर्ने निर्णय लिएको हो ।
क्यानमा आन्तरिक किचलो बढदै यसको विवाद अदालतसम्म पुगेपछि आईसीसीले आर्टिकल २.९ अनुसार यसलाई निलम्बन गरेको हो । क्यान विवादित र नेतृत्वविहीन हुँदा नेपालको उदयमान क्रिकेट क्षेत्रमा समेत नकारात्मक छाप र असर पर्ने चिन्दा बढदै गएको थियो ।
यस्ता विवाद र अनियमिततामा कडाईका साथ प्रस्तुत हुँदै आएको आइसीसीले क्यानलाई कुनै न कुनै रुपमा कारवाही गर्ने अडकल गरिदै आएको थियो । उसले पटक पटक क्यानलाई समेतसमेत गराउँदै आएको थियो । आइसीसीले नेपाल सरकारको राजनीतिक हस्तक्षेपका कारण क्यानमा स्वतन्त्र र निश्पक्ष चुनाव हुन नसकेको पनि ठहर गरेको छ ।
क्यान एक समूहले गरेको साधारणसभाबाट आएको नेतृत्वलाई राष्ट्रिय खेलकुद परिषदले मान्यता नदिइ अर्को तदर्थ समिति बनाएको छ । परिषदको निर्णयविरुद्ध निर्वाचन गरेर नेतृत्व चयन गरेको समूहले आफ्नो आधिकारिकता दावी गर्दै सर्वोच्च अदालतमा गएको हो ।
क्यानमा विवाद भएपछि आइसीसी आफ्नै पहलमा विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत हालै नेपाल र नामिबियाबीच त्रिभूवन विश्वविद्यालयको कीर्तिपुरस्थित खेल मैदानमा खेल गराएको थियो ।
आईसीसीको यस निर्णयबाट यसले क्यानलाई दिँदै आएको सबै सहयोग रोक्का हुनुका साथै क्यानमार्फत खेलहरुको आयोजना र प्रतिनिधित्वसमेत रोकिन्छ । यद्यपि खेलाडीहरुले भने राष्ट्रिय अन्तर्राष्ट्रिय खेल खेल्न रोकिने छैन । विवादकै कारण यसअघि देखि नै उसको क्यानलाई दिनुपर्ने रकम रोकिएको छ ।