काठमाडौंः जबरजस्ती करणी (बलात्कार) मुद्दाका फरार प्रतिवादीहरुलाई प्रहरीले २७ बर्षपछि पक्राउ गरी जेल हालेको छ । बल्खुमा लुकिछिपि बसेका बर्ष ४६ का रामेश्वर नगरकोटी शुक्रबार र बर्ष ४६ कै अनिल थापालाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।
दुवैलाई जिल्ला अदालत काठमाडौंले २०५० साल माघ १३ गते काठमाडौंको कुलेश्वर बस्ने नगरकोटी र सोही ठाउँ बस्ने थापालाई दोषी ठहर गर्दै एक बर्ष छ महिना कैद सजाय सुनाएको थियो । तर दुवै जना फरार भई लुकिछिपि बस्दै आएकाले उनीहरुलाई प्रहरीले पक्राउ गर्न सकेको थिइन ।
पक्राउ परेपछि दुवैलाई कैद भुक्तानीका लागि केन्द्रीय कारागार पठाउन काठमाडौं जिल्ला अदालतले आइतबार निर्देशन दिएको छ । सवारी ड्राइभिङ सिक्ने नगरकोटीसहित तीन जनाले २०४७ असार १५ गते इन्द्रचोक मखन बस्ने एक जना युवतीलाई आफ्नो गाडीमा चढाई किर्तिपुर क्याम्पसको हलभित्र पुर्याएर जबरजस्ती करणी गर्दा युवती रोईकराई गरेको गस्तीमा रहेको प्रहरीले सुनेको थियो । प्रहरी पुग्दा उनीहरु त्यहाँबाट भागेका थिए ।