काठमाडौंः लामो समयदेखि आयोजना हुन नसकेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी मंसिर १४ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको छ । अखिल नेपाल फुटबल संघले चार वर्षसम्म गर्न नसकेको उक्त प्रतियोगिता मंसिरमा गर्ने निर्णय गरेको हो ।
प्रतियोगिता पछिल्लोपटक विसं २०७० मा भएको थियो । साथै, संघले एसियन क्लब च्याम्पियनसिपको प्लेअफ गुमाएको थ्रीस्टार क्लबलाई क्षतिपूर्तिसमेत दिने निर्णय गरेको छ । क्षतिपूर्तिको विषयमा थप अध्ययन गर्नका लागि वरिष्ठ उपाध्यक्ष मणि कुँवरको संयोजकत्वमा तीन सदस्यीय कमिटीसमेत गठन गरिएको छ ।
कार्यसमितिका सदस्यमा गणेशबहादुर चन्द र दिनेश ब्यञ्जन्कार हुनुहुन्छ । उक्त समितिलाई १० दिनको समय दिइएको छ । त्यस्तै, एन्फाले विधान संसोधनका लागि असोज २३ मा विशेष साधारणसभा गर्ने र पुस २३ गते नयाँ नेतृत्व चयनका लागि चुनाव गर्ने प्रस्ताव पनि एएफसीसामु पठाउने निर्णय गरेको छ ।
बैठकमा एशियाली फुटबल महासंघ (एएफसी)को विकास कार्यक्रमअन्तर्गत काठमाडौं, मकवानपुर तथा नवलपरासीमा एक एक फुटबल मैदान बनाउने निर्णयसमेत गरेको एन्फाले जनाएको छ ।