काठमाडौंः पौडीबाज गौरिका सिंहले राष्टिय प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । बिहीबार भएको ५० मिटर बटरफ्लाई स्पर्धामा गौरिकाले नयाँ कीर्तिमान बनाएकी हुन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा भएको ५० मिटर बटरफ्लाईको हिट चरणमा गौरिकाले २९।४० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
यसअघि यो कीर्तिमान अर्की जलपरी सोफिया शाहको नाममा थियो । उनले सातौं राष्ट्रिय खेलकुदमा ३२।०६ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । त्यसैगरी दुई सय मिटर फ्रि स्टायलमा पनि गौरिकाले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । १२औं दक्षिण एसियाली खेलकुदमा सोभिया शाहले नै बनाएको १३।२२ सेकेन्डको कीर्तिमान गौरिकाले तोडेकी हुन् । उनले फाइनल चरणमा ११।९४ सेकेन्डको नतिजा निकाल्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्।
यसैगरी पुरुष दुई सय मिटर ब्रेस्टस्टोकमा सशस्त्र प्रहरी बलका शुभम् श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले आफ्नै नाममा रहेको ४२।६२ को पुरानो रेकर्ड तोड्दै ३६।७५ सेकेन्डको कीर्तिमान राखेका हुन् । शुभम्को पुरानो रेकर्डलाई मध्यमाञ्चलका किरण कार्कीले पनि तोडे । कार्कीले ४२।१३ सेकेन्डको नतिजा निकाले । यसैगरी दुई सय मिटर महिला ब्रेस्टस्टोकमा सशस्त्र प्रहरी बलकी डुयना लामाले राष्ट्रिय कीर्तिमान बनाइन्।
विविधा रिमालले १०औं साग खेलकुदमा बनाएको १२।८५ को कीर्तिमानलाई तोड्दै लामाले हिट चरणमा ०७।२२ सेकेन्डको कीर्तिमान बनाएकी हुन् । नेपाल पौडी संघको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा गौरिकाले त्रिभुवन आर्मी क्लबका तर्फबाट पाँचवटा स्पर्धामा भाग लिएकी छन् । २९ स्पर्धामा खेलाइएको प्रतियोगितामा एक सय ४४ खेलाडीको सहभागिता रहेको छ ।