एजेन्सीः साबिक बिजेता रियल म्याड्रिड स्पेनिस लिगमा आइतबार भ्यालेन्सियासँगको खेलमा हारबाट जोगिएको छ । मार्को एसेन्सियोले दुई गोल गरेपछि डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड घरेलु लिगमा हारबाट जोगिएको हो । खेल सकिन सात मिनेट बाँकी छँदा एसेन्सियोले बराबरी गोल गरेपछि भ्यालेन्सियालाई २-२को बराबरी रोकेको हो । रियलको घरेलु मैदानमा एसेन्सियोले रियललाई दश मिनेटमै सुरवाती अग्रता दिलाएका थिए ।
कार्लोस सोलरले भ्यालेन्सियाका लागि १८ औं मिनेटमा बराबरी गोल गरे । मिडफिल्डर जिओफ्री कोन्डोगबियाले ७७ औं मिनेटमा पाहुना टोलीलाई अग्रता दिलाएका थिए । खेलको ८३औं मिनेटमा एसेन्सियोले फ्रिकिक मार्फत दोस्रो गोल गर्दै रियलको संकट टार्दै १ अंक दिलाए ।
अर्को खेलमा गेटाफेलाई १-० ले पराजित गर्दै सेभियाले ३ अंक जोड्यो । गान्सोले ८३ औं मिनेटमा गरेको गोल नै सेभियाको जितको लागि पर्याप्त बन्यो । एथ्लेटिक बिल्बाओले पनि अरिट्ज अडुरिजको निर्णायक गोलको मदतले ऐबारलाई १-०ले हरायो ।