ट्राफिक प्रहरीसँग प्याड छाप्न पनि पैसा छैन.....!?

Advertisement

काठमाडौं । कानुन कार्यान्वयन गर्ने प्रहरीलाई कानुन उल्लङ्घन गर्नेमाथि जरिवाना तिराउनका लागि प्याड छाप्न आर्थिक अभाव होला ? नहोला । 

अहिले महानगरीय प्रहरी परिसर कार्यालय काठमाडौँलाई भने सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्नेमाथि जरिवाना तिराउन प्रयोग हुने प्याड छपाउन अर्थ अभाव देखिएको छ । “खोजखाज र तानतुन गरी केही प्याड छपाइ गरेयौँ, अब केही बाँकी होला, थप छपाउन पैसा छैन” परिसरका प्रहरी वरिष्ठ उपरीक्षक विक्रमसिंह थापाले भने । 

Advertisement

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि अनुसन्धान एवम् सचेतना जगाउन सक्रिय एक्सन नेपालद्वारा मंगलबार आयोजित कार्यक्रममा परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक थापाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्नेमाथि परिसरले अभियान नै सञ्चालन गरी जरिवान तिराई उनीहरुलाई थप सचेत गराउने कार्य गरिरहेको जानकारी दिए । 

पाँच महिनाका अवधिमा सोबापत परिसरले सात लाख रुपियाँ जरिवाना  सङ्कलन गरेको छ । सार्वजनिकस्थलमा विशेष गरी धूमपान गर्नेलाई प्रहरीले नियन्त्रणमा लिई एकसय जरिवाना तिराउँदै छाड्ने गरेको छ । यसका लागि परिसरले हाल दैनिक ४० टोली परिचालन गरिरहेको छ । 

टोलीले सुर्तीजन्य पदार्थका कारण हुने अर्बुद रोगका बारेमा प्रारम्भिक परामर्श दिइरहेको र सरकारी तथा निजी विद्यालयमा अध्ययनरत छात्रछात्रालाई अनुशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । “हाम्रो अभियानको उद्देश्य भनेको कलम, कापी र किताब बोक्ने युवाले औँलामा चुरोटको खिल्ली नसमातून् भन्ने नै हो, यसका लागि प्रहरी सचेतपूर्वक काममा जुटिरहेको छ”, थापाले भने । 

कार्यक्रममा महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थ सेवन गर्नेलाई जरिवाना तिराउने र सचेत गराउने कार्य आगामी दिनमा पनि जारी नै राखिने जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालयमा दैनिक रुपमा अर्बुद रोगीको सिफारिस माग्न आठ नौ जना पुग्ने गर्छन् । यस्ता रोगीलाई उपचार गर्न सरकारले एक लाख रुपियाँ आर्थिक अनुदान दिने गर्छ । प्रजिअ रामकृष्ण सुवेदीले अर्बुद रोगीको सिफारिस पाऊँ भनी कार्यालयमा आएका रोगीको अवस्था देखेर सार्वजनिकस्थलमा चुरोट पिउने कार्यलाई नियन्त्रण गर्ने अभियान सञ्चालन गरिएको बताए । 

पुरुष धूमपानका अम्मली घट्दो 

आयोजक संस्थाका अध्यक्ष आनन्द चन्दले पछिल्लो समय चुरोट र खैनीका बट्टामा यसका बारेमा दिइएका सूचना र छापिएका तस्बिरका कारण चुरोट सेवनकर्ता घटिरहेको जानकारी दिए । संस्थाले गरेको अध्ययनअनुसार दैनिक ११ खिल्लीसम्म सेवन गर्नेहरु बट्टामा छापिएका सूचना र तस्बिर देखेर पाँच खिल्ली सेवनमा झरेका छन् । 

हाल सुर्तीजन्य पदार्थ सेवनबाट निम्तिने रोगबाट बर्सेनि १५ हजारले अकालमा ज्यान गुमाउनु परिरहेको छ । अर्कातर्फ पछिल्लो समय सहरी क्षेत्रका युवतीहरुले चुरोट सेवन गर्नाले शरीर पातलो हुन्छ भन्ने गलत मानसिकताले यसको सेवनमा वृद्धि भइरहेको बताइन्छ । 

सरकारले सुर्तीजन्य पदार्थको बट्टामा ९० प्रतिशत यसको हानिका बारेमा छापिएका जानकारी तथा तस्बिर छाप्नुपर्ने व्यवस्था गरेको छ । कार्यक्रममा चिकित्सकद्वय विष्णुदत्त पौडेल र तारासिंह बमले सुर्तीजन्य पदार्थमा पाइने निकोटिन र टार भन्ने तत्वले मुख र फोक्सामा अर्बुद रोग हुने बढी सम्भावना रहेको बताए । 

पछिल्लो समय विश्व स्वास्थ्य सङ्गठनले सुर्तीजन्य पदार्थको बट्टा अथवा खोलमा शतप्रतिशत नै यसका हानिबारेमा जानकारी दिने सन्देश वा तस्बिर राख्न आह्वान गरेको छ । रासस 

Advertisement

Advertisement