नेपालमा बरामद हुने भारतीय नक्कली नोटको कारखाना पाकिस्तानको कराँचीमा रहेको खुलासा

Advertisement

काठमाडौं। नेपालमा बरामद हुने भारतीय नक्कली नोटको कारखाना पाकिस्तानको कराँचीमा रहेको पुष्टी भएको छ ।

५५ लाख ८७ हजार भारतीय रुपियाँ नक्कली नोटसहित प्रहरीले दुई महिलासहित आठ जनालाई पक्राउ गरेपछि सो तथ्या खुलेको हो ।

Advertisement

महानगरीय प्रहरी बृत महाराजगञ्ज र प्रधान कार्यालय अन्तरगत विशेष ब्यूरोले छुट्टाछुट्टै स्थानबाट बरामद गरेको नक्कली भारु पाकिस्तानको कराँचीबाट हवाइमार्ग हँुदै दोहा र दोहाबाट काठमाडौं आउने गरेको जानकारी प्राप्त भएको हो ।

महानगरीय प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले नक्कली भारु भित्र्याउन पनि भारतीय र पाकिस्तानी नागरिकको मुख्य भूमिका रहेको जानकारी दिए। १९ लाख ८७ हजार नक्कली भारुसहित पक्राउ परेका भारतीय नागरिक अरुण भन्ने बैजनाथ गुप्ता कराँचीबाट नोट झिकाउने मुख्य अभियुक्त भएको जानकारी दिए।
हिन्दु, मुस्लिम र क्रिश्चियन तीनवटै धर्म मान्दै आएका विहारका गुप्ता नक्कली नोटको कारोवारमा जोसेफ, युसुफ खान, राजु र विजय भनेर चिनिन्छन् ।

उनले नै कराँचीबाट नक्कली नोट मगाएर नेपाली बजारमा वितरण गर्ने गरेको भनाई प्रहरीको छ ।
लागूऔषध मुद्दामा २०५२ सालदेखि २०६७ सालसम्म केन्द्रीय कारागारमा जेल सजाय भोगेका गुप्ताले कारागारमै भेटेका पाकिस्तानी नागरिक हाजीको योजना अनुसार आफूले कराँचीबाट नक्कली नोट मगाउने गरेको बताएका हुन् ।

उनले एक हजारको एक नोट बजारमा विक्री गरेवापत चार सयदेखि पाँच सय रुपियाँ कमिसन आफूले खाने, कराँचीमा ३० रुपियाँ दिने र बाँकी बिक्री गर्नेलाई दिने गरेको पाइएको छ ।

गुप्ता जेल मुक्त भएपछि लागूऔषध छोडेर यस्तो धन्दामा लागेका हुन् । गुप्ताले कराँचीबाट आयात भएको नक्कली भारु बजारमा विक्रीको जिम्मा विजय शर्मा र तारिणीप्रसाद ठाकुरलाई दिने गरेका थिए ।

रुपन्देही घर भई हाल गोंगबु बस्दै आएका शर्माले पनि सो रकम डोटी घर भई हाल कालोपुल बस्ने अमृतमान श्रेष्ठ र ठाकुरले बूढानीलकण्ठका सुमन मल्ल, दोलखाकी मीरा जिरेल मार्फत बजारमा पठाउने गरेका थिए । अभियुक्तहरुले सामान खरिद गर्ने क्रममा यस्तो नक्कली नोट भिराउने गरेका थिए ।

यसरी, बजारमा सामान खरिद गर्ने क्रममा नक्कली नोट भिराएवापत जम्मा भएको रकम गुप्ताले कराँची पठाउन न्युरोडका ब्यापारी सनद प्रधानलाई हुण्डीको जिम्मा दिने गरेको जानकारी प्रहरीले दिएको हो । यी सबै अभियुक्तहरु प्रहरीको नियन्त्रणमा आएका छन् ।

महाराजगञ्जस्थित पसलबाट तरकारी खरिद गरी नक्कली भारु नोट दिएर उम्कन खोजेका अभियुक्त सुमन मल्लमाथि शंका लागि प्रहरीले अनुसन्धानका क्रममा उनको साथबाट थप नक्कली नोट फेला परेको थियो । सोही घटनालाई आधार बनाएर महारागञ्ज प्रहरीले विशेष ब्यूरोसंग सहकार्य गरी अनुसन्धान गर्दा नक्कली नोट कारोवारको गिरोह नै पक्राउ परेको हो ।

यसैबीच, गुप्ताकै लागि कराँचीबाट नेपाल भित्र्याइदै गरेको १९ हजार पाँचसय नक्कली भारु र ३६ लाख नक्कली अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समा नाजी नाम गरेकी युवतीलाई पक्राउ गरेको छ ।

प्रहरीले बैजनाथलाई पक्राउ गरेको हप्ता दिनपछि नक्कली नोट कारोवारी गिरोहको संजाल तोड्ने क्रममा ती युवतीलाई पनि पक्राउ गरेको हो । 

उनी पनि कराँचीबाट नक्कली भारु र डलर बोकेर दोहा र दोहाबाट काठमाडौं आउँदै गरेको अवस्थामा पक्राउ परेकी हुन् । उनको साथबाट बरामद अमेरिकी डलर हालसम्मकै उच्च रकम (डलर बरामदमा) हो ।


उनीहरुको साथबाट बरामद नक्कली भारु र डलर प्रिन्ट कपि भएको विशेष ब्यूरो प्रमुख बमबहादुर भण्डारीले बताएका हुन ।


    

 

Advertisement

Advertisement