इलाम । झापा दमकका भुपेन्द्र निरौला र काठमाडौंकी सिन्दिरा जोशी राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन् । इलाममा मंगलबार सम्पन्न १९औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका भुपेन्द्रका लागि अन्तिम खेल भने सुखद भएन ।
खेल सकिन एक चरण बाँकी रहँदै सात अङ्क जोडेका भुपेन्द्रले पूर्वराष्ट्रिय च्याम्पियन फिडेमास्टर विलमलाल श्रेष्ठसँगको खेलमा गलत चाल चाल्दा हार व्यहोर्नु पर्यो ।
तर अङ्क तालिकामा सबैभन्दा शीर्ष स्थानमा रहेका भुपेन्द्र आगामी दुई वर्षका लागि राष्ट्रिय च्याम्पियनको ताज पहिरिन पाउनेछन् । भुपेन्द्रले नौ खेलमध्ये छ मा जित, दुई बराबरी र एक खेलमा हार व्यहोर्नुप¥यो ।
नेपाल आर्मी क्लबका सजिन महर्जनले प्रतियोगिताको दोस्रो स्थान सुरक्षित गरे । अन्तिम चरणको खेलमा पूर्वराष्ट्रिय च्याम्पियन नबिन तण्डुकारलाई पराजित गरेका सजिनले ६.५ अङ्क बनाएका छन् ।
दुई वर्षअघि भएको १८औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा च्याम्पियन बनेका क्यान्डिडेट मास्टर केशव श्रेष्ठले भने ६ अङ्कका साथ तेस्रो स्थानमा नै चित्त बुझाउनु पर्यो । समान ६ अङ्क बनाएका राष्ट्रिय एमेच्योर च्याम्पियन क्षितिज भण्डारी चौथो तथा विलमलाल श्रेष्ठ पाँचौँ स्थानमा रहन सफल भएका छन् । उत्कृष्ट पाँच खेलाडी आगामी सेप्टेम्बरमा अजरबैजानको बाकुमा हुने ४२औँ चेस ओलम्पियाडमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
यसैगरी, चौथो महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको च्याम्पियन भने काठमाडौँकी सिन्दिरा जोशी भइन् । जोशी एपिएफकी शान्ता थापा तथा पूर्वमहिला राष्ट्रिय च्याम्पियन मोनालिसा खम्बुलाई टाइब्रेकरमा पछि पार्दै च्याम्पियन बनेकी हुन् ।
नौ खेलबाट तीनैजनाले समान सात अङ्क जोडेको भए पनि ‘हेड टू हेड’ नतिजाका आधारमा सिन्दिरा च्याम्पियन बनेकी हुन् । नेसनल बीको समेत च्याम्पियन बन्न सफल भएकी सिन्दिराले अन्तिम चरणको खेलमा काठमाडौँकी बिनिता कपालीसँग बराबरीको नतिजा हात पारिन् ।
महिलातर्फ एपिएफ क्लबकी शान्ता थापा दोस्रो, मोनालिसा खम्बु तेस्रो भए । ६ अङ्क बटुलेकी सुजना लोहनी चौथो र ५.५ अङ्कका साथ अस्मिता अधिकारीले पाँचौँ स्थान सुरक्षित गरिन् । उनीहरूले पनि ओलम्पियाडका लागि छनौट भएको राष्ट्रिय बुद्धिचाल सङ्घले जनाएको छ ।
प्रतियोगितामा खुलातर्फ ३५ र महिलातर्फ १८ खेलाडी सहभागी थिए । नेपाल बुद्धिचाल सङ्घको आयोजना तथा इलाम जिल्ला बुद्धिचाल सङ्घ र गजुरमुखी चेस क्लबको व्यवस्थापनमा भएको च्याम्पियनसीपका विजेतालाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्र लाखे, नेपाल बुद्धिचाल सङ्घका वरिष्ठ उपाध्यक्ष विदुरप्रसाद गौतम र गजुरमुखी निर्माण कम्पनीका प्रमुख दिपक गौतमले पुरस्कार वितरण गरे ।