काठमाडौं । बाराबाट अपहरणमा परेका उद्योगी सुरेश केडियालाई नेपाली र भारतीय प्रहरीको संयुक्त टोलीले सकुशल अपहरणमुक्त गराएको छ ।
बिहीबार साँझ अपहरणमा परेका केडिया अर्गनाइजेशनका सदस्य केडियालाई भारतको बिहारको राज्यको मोतिहारीबाट अपहरण मुक्त गरेको हो । व्यापारिक कामले सिलसिलामा बाराको वरियारपुर गएका उनलाई साँझ फर्कने क्रममा स्थानीय पसाहा पुल नजिकबाट अपहरण गरिएको थियो ।
खाद्यान्न उद्योग सञ्चालन गर्दै आएका केडिया अपहरणमुक्त भएको उनका परिवारजनले पुष्टि परेको हो । उनका भाई प्रदिपका अनुसार दाई सुरेश अपहरणमुक्त भई आफूसँग कुरासमेत भइसकेको जानकारी दिँदै उनी नेपाल आउने क्रममा रहेको र आइसकेपछि थप कुराहरु जानकारी हुने बताएका छन् ।
उनको अपहरणमा भारतकै आपराधिक समूह बब्बु देवे समूहको हात रहेको भारतीय प्रहरीको भनाई उदृत गर्दै विभिन्न सञ्चार माध्यमले जनाएका छन् । उद्योगी सुरेश चढेको बा १० च ७२४० नम्बरको गाडी रोकेर उक्त अपराधिक समूहले चालक श्याम कानुमाथि गोली प्रहार गरेका थिए । गोली लागेर उनी गम्भीर घाइते भएका छन् । बब्बु समूहको एक जनालाई अहिले प्रहरीले पक्राउ गरेको र छानबिन भइरहेको जनाइएको छ । जेलमा रहेका बब्बुले भित्रैबाट सुरेशलाई अपहरण गराउन निर्देशन दिएका थिए ।
पछिल्ला केही वर्षदेखि भारतीय आपराधिक समूह निष्क्रिय हुँदै गइको बेला फेरि अपहरणको श्रृखला सुरु हुन लागेको हो ।