काठमाडौंः किर्गिस्तानमा जारी एएफसी यू-१९ फुटबल च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ । बिहीबार भएको खेलमा बहराइनसँग नेपाल ४-० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।
पहिलो हाफको २० औं मिनेटमा गोल गर्दै अली हसन मेफ्ताले बहराइनलाई अग्रता दिलाएका थिए । उनले ६७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल २-० ले पछि पर्यो । ८६ औं मिनेटमा इब्राहिम मुबारकले तथा दस खेलाडीमा समेटिएको नेपालले इन्ज्युरी समयको दोस्रो मिनेटमा अर्को गोल खायो । नेपालका दिनेश हेन्जनले ८८ औं मिनेटमा रातो कार्ड पाएर मैदान छोडेका थिए ।
दुई खेलको पराजय पछि नेपाल समुहमा अंकतालिकाको अन्तिममा रहेको छ । नेपाल मंगलबार आयोजक किर्गिस्तानसँग २-० मा पराजय भएको थियो । नेपालले अब संयुक्त अरब इमिरेट्स र ओमनसँग खेल्न बाँकि छ ।