काठमाडौं । माछापोखरीस्थित ‘बालाजु स्वास्थ्य क्लिनिक’ विगत दश वर्षदेखि नवीकरण नगरी सञ्चालित हुँदै आएको मात्रै ८० प्रतिशतभन्दा बढि महंगोमा औषधि बिक्री गर्दै आएको फेला परेको छ ।
त्यति मात्रै होइन अनधिकृत ढङ्गले दशभन्दा बढी चिकित्सकको नाम पनि टाँस गरी उक्त क्लिनिक सञ्चालन हुँदै आएको अनुगमनबाट थाहा भएको हो । औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले बिहीबार गरेको संयुक्त अनुगमन यो तथ्य फेला परेको हो ।
‘बालाजु स्वास्थ्य क्लिनिक’लाई अनुगमन टोलीले शिलबन्दी गरेको छ । उक्त क्लिनिकले औषधिमा चर्को असुल गर्ने गरेको, फिजियो थेरापी, एक्सरे, भिडियो एक्सरे जस्ता जाँचमा मनपरी शुल्क असुल्ने गरेको र विभिन्न बहानामा अतिरिक्त शुल्क असुल्ने गरेको खुलासा भएको छ ।
क्लिनिक सञ्चालिका सरस्वती बुढाथोकीले केही कमजोरी भएको स्वीकार गरेपनि उपचारमा भने कुनै कमजोरी नगरेको दाबी गरिन । एक दर्जन चिकित्सकको नाम राखेर गरिएको प्रचारबारे भने उनले पहिले उनीहरूसँग सम्झौता गरेको तर अहिले भने सम्झौता सकिए पनि बोर्डमा भएको नाम हटाउन नभ्याइएको बताइन ।
अनुमगनकै क्रममा धापासीमा रहेको ‘आरधना हेल्थ केयर सेन्टर प्रालि’ मा पनि शिलबन्दीमा परेको छ । आराधना हेल्थ केयरले औषधि व्यवस्था विभागबाट स्वीकृत लिएर सञ्चालन गर्नुपर्नेमा तत्कालीन गाविस कार्यालयबाट स्वीकृत गरी सञ्चालन गरेको र औषधिको बढी मूल्य लिएको पाइएकाले शिलबन्दी गरिएको जनाइएको छ ।
फार्मेसी सञ्चालनका लागि औषधि व्यवस्था विभाग र क्लिनिकको लागि मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयबाट स्वीकृति लिनुपर्ने कानूनी प्रवधान छ । धापासीमै रहेको ‘सुभजीत फार्मेसीले’ लागुऔषधका रुपमा प्रयोग गरिने औषधिलाई डाक्टरको अनुमति बिना बिक्री गरेको, फार्मेसीको नाम एउटा रहेको तर औषधिको बिलमा अर्को नाम रहेको भन्दै ग्रान्डी अस्पतालको नजिकै रहेको उक्त फार्मेसीलाई पनि अनुगमन टोलीले शिलबन्दी गरेको छ ।
टोलीले तीन दिनभित्र आवश्यक कागजपत्रसहित विभागमा उपस्थिति हुन उनीहरुलाई निर्देशन पनि दिएको छ । कागजातको आधारमा आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने उपभोक्ता हित संरक्षण विभागका अनुगमन अधिकृत श्रीप्रसाद अधिकारीले जानकारी दिए । रासस