फ्रान्स । पोर्चुगलले फ्रान्सलाई उसैको मैदानमा यूरो कप २०१६ को उपाधी उचाल्न सफल भएको छ । निर्धारित ९० मिनेटको खेलमा कुनै पनि गोल नभएपछि अतिरिक्त समयमा १०९औं मिनेटमा शानदार गोल गर्दै पोर्चुगल यूरो कपको हकदार बन्न सफल भएको हो ।
बाह्र वर्षपछि यूरोकपको फाइनलमा पुगेको पोर्चुगलले आफ्नो पूरानो सपना पूरा गर्दै पहिलो पटक उपाधि हासिल गर्न सफल भएको हो । सोमबार बिहान भएको खेलमा एक मात्रै गोल पोर्चुगलका एइडरले गरेका थिए ।
पोर्चुगलका क्याप्टेन क्रिष्टियानो रोनाल्डो चोटका कारण १०औं मिनेटमा बाहिरिएपछि उनका समर्थकहरुलाई चिन्ता बढिरहेको बेला एइडरले गोल गरेर समर्थकहरुलाई निराश हुन दिएनन् ।
पोर्चुगलको जितसँगै यूरोकपमा उसको नामसमेत लेखिएको थियो । विगत १० वर्षयता कुनै अन्तर्राष्ट्रिय खेलहरु नजितेको पोर्चुगलका लागि यो निकै खुशीको अवसर हो । करिव एक करोडको आवादी रहेको पोर्चुगालीहरुमा फुटबलप्रति निकै आस्था र आकर्षण छ ।
खेलमा धेरै अवसर गुमाएको फ्रान्सले गोल गर्ने थुप्रै अवसरहरु खेर फालेको थियो । फ्रान्सका स्टारम्यान एन्टोनी ग्रिजम्यानको दुई प्रहारलाई पोर्चुगलका गोलकिपरले रोके भने गेनियाकको प्रहार पोष्टमा लागेर फर्किएको थियो ।