नेपाल प्रहरीले पूर्वडिआइजी तथा ललितपुर क्षेत्र नम्बर १ मा एमालेबाट निर्वाचित सांसद नवराज सिलवालको कीर्ते प्रकरणबारे अनुसन्धान भइरहेको जनाएको छ ।
रिपोर्टस क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै प्रहरी प्रवक्ता मनोज न्यौपानेले सिलवालको कीर्ते प्रकरणबारे अनुसन्धान भइरहेको बताउँदै अहिले केही पनि भन्न नमिल्ने बताए । 'नवराज सिलवालबारे अनुसन्धान भइरहेको छु, उनले भने, 'म सबै कुरामा अपडेट छैन, अपडेट भएर जवाफ दिन्छु ।'
सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दार्ता गराएर आइजीपी प्रकाश अर्याल र मुख्य सचिव लोकदर्शन रेग्मीको निर्देशनमा अनुसन्धान अघि बढाइएको छ ।
सरकारले जयबहादुर चन्दलाई आइजीपी बनाएपछि तत्कालीन वरिष्ठतामा अगाडि रहेका डीआईजी सिलवालले सर्वोच्च अदालतमा रिट हालेका थिए । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दको नियुक्ति बदर गरी कार्यसम्पादन मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दिएको थियो । त्यही आदेश अनुसार शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रकाश अर्याललाई प्रहरी प्रमुख बनायो ।
तर त्यसबाट पनि असन्तुष्ट सिलवालले पुनस् सर्वोच्चको ढोका ढक्ढक्याए । त्यसपछि नयाँ प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको पूर्ण इजलासले उनको मागदाबी अस्वीकार गर्यो ।
आईजीपी बन्न नपाएपछि एमाले प्रवेश गरेका सिलवाल ललितपुर १ बाट सासंदमा निर्वातित भएका छन् । सासंद पदको सपथ ग्रहण भइनसक्दै उनीविरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
कीर्तेमा संलग्नलाई कारबाही गर्न आदेश दिएको फैसलाको पूर्ण पाठ पनि सर्वोच्चले सार्वजनिक गरेको छ । जसमा सिलवालले बुझाएको र लोकसेवाबाट प्राप्त कार्यसम्पादन मूल्यांकनमा फरक फरक अंक देखिएको भन्दै यसमा संलग्नमाथि छानविन गरी कारबाही गर्न आदेश दिइएको थियो ।