काठमाडौं । नेपाली फुटसलमा सर्वाधिक पुरस्कार राशि भएको फुटसल प्रिमियर लिगको छनोट चरणमा ३४ फुटसल क्लबले भाग लिने भएका छन् । एएमए इभेन्टस प्रालिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी क्लबलाई विभिन्न सात समूहमा विभाजन गरिएको जानकारी दिइयो ।
प्रतियोगिताका संयोजक विवेक गौतमले छनोट खेलमा प्रत्येक समूहको विजेता र उपविजेता टोली प्रिमियर लिगका लागि छनोट हुनेछन् । हरेक समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट दुई टोली पनि प्रतियोगिताको लागि छनोट हुने बताए ।
आगामी भदौ १ देखि ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल बानेश्वर रिक्रिएसन सेन्टरमा हुनेछ । प्रिमियर लिगमा छनोट हुने १६ टोलीलाई दुई समूहमा विभाजन गरी होम एन्ड अबेका आधारमा खेल सञ्चालन गरिने छ । ।
प्रतियोगितामा पहिलो हुने टोलीले १० लाख तथा दोस्रो हुनेले पाँच लाख रुपियाँ प्राप्त गर्नेछ । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरको उपाधि पाउने खेलाडीले जनही ५० हजार रुपियाँ पाउनेछन् ।