काठमाडौं । स्टार फुटबलर लिओनल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट फिर्ता लिने यसअघिको घोषणाबाट फिर्ता भएका छन् । कोपा अमेरिकाको फाइनल खेलमा चिलीलाई हानेको पेनाल्टी मिस गरेपछि उनले राष्ट्रिय टिमबाट सन्यास घोषणा गरेका थिए ।
उक्त खेलमा अर्जेन्टिना चिलीसँग पराजित भएको थियो । राष्ट्रिय टिमबाट एक्कासी सन्यास लिने घोषणाको विश्वभरका म्यान र स्वयम आफ्नो मुलुकबाट आलोचना भएपछि मेस्सीले घोषणा फिर्ता गरेका हुन ।
अर्जेन्टिनी राष्ट्रपतिले समेत २९ वर्षे मेस्सीले आफ्नो निर्णयमा पुनःविचार गर्न आग्रहह गरेका थिए । हालै मात्र अर्जेन्टिनाको प्रशिक्षक बनेका इडगार्डो बौजाले यस विषयमा बार्सिलोना पुगेर मेस्सीसँग छलफल गरेका थिए ।
लगतै मेस्सीले सन्यास फिर्ता लिएका र उनको नाम विश्वकप छनौट टोलीमा समावेश गरिएको छ । अर्जेन्टिनाले आगामी सेप्टेम्बरमा उरुग्वे र भेनेजुएलाविरुद्ध विश्वकप छनौट खेल्दैछ ।
अर्जेन्टिनी मिडियाहरुका अनुसार मेस्सीले देशको मायाले सन्यासको निर्णय फिर्ता लिएको बताएका छन् । उनले भनेका छन्, फाइनलको रात मेरो मनमा धेरै कुरा खेल्यो र सन्यासबारे गम्भीर रुपमा सोचेँ । तर, मेरो देश र मेरो जर्सीप्रति प्रेम छ ।’
मेस्सी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता हुन् । उनले १३३ खेलमा ५५ गोल गरेका छन् । उनले भनेका छन्, अर्जेन्टिनाको फुटबलमा धेरै राम्रो गर्नु छ । तर, यो म भित्रै रहेर गर्न चाहन्छु न कि बाहिर बसेर आलोचना गरौं ।’
सन् २००८ को बेइजिङ ओलम्पिकमा अर्जेन्टिनालाई स्वर्ण दिलाएका मेस्सीले देशका लागि अरु ठूला उपाधि दिलाउन सकेका छैनन् ।