काठमाडौंः प्रहरीले दैनिकदेखि साप्ताहिक पत्रिकाहरुको बर्गिकृत डिस्प्लेमा ‘यौन शक्ति, सुपर यौन, यौनवद्र्धक आयल, यौनशक्ति बर्धक, यौन सन्तुष्टि, मोटोपना, सेक्स’ जस्ता शीर्षकहरु राखी विज्ञापन प्रकाशित गर्ने व्यक्ति तथा कम्पनीका सञ्चालकहरुलाई पक्राउ गरेको छ ।
त्यस्ता विज्ञापनहरुमा लिंगको साइज, पावर र एक्स्ट्रा टाइम बढाई सेक्सको आनन्द लिने (काम नगरे पैसा फिर्ता) जस्ता कुराहरु उल्लेख गरी मानिसहरुलाई आकर्षिक गर्ने कार्यमा संलग्नहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
त्यस्ता व्यक्तिहरुले विशेषगरी काठमाडौं उपत्यका आसपास इलाकाहरुमा कसैले कम्पनी दर्ता नगरी कार्यालय खोल्ने र कसैले कम्पनीसमेत दर्ता गरेर कम्पनीको उद्देश्यविपरित मानिसहरुलाई भ्रम सिर्जना गर्ने, ललाई फकाई वा जालपरिपञ्चमा पारी ठगी गर्नेहरुको समूहलाई पक्राउ गरिएको हो ।
उपभोक्ता संरक्षण मञ्च काठमाडौंले दिएको उजुरीको आधारमा मानिसहरुलाई झुक्याएर ठगी गर्नेहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको विरुद्ध सर्वसाधारण जनताको समेत पटक पटक गुनासो आएकाले ब्यूरोले अपरेशन इलुजन नामक कारवाही सञ्चालन गरी यस्ता कार्यमा संलग्नहरुलाई नियन्त्रणमा लिएको हो ।
यौनवद्र्धक सामग्रीहरुसहित राजधानीका विभिन्न स्थानमा एक जना भारतीयसहित १५ जनालाई शुक्रबार पक्राउ गरिएको ब्यूरोले आफ्नो विज्ञप्तिमा जनाएको छ । उनीहरुलाई मुलुकी ऐन गठीको महलबमोजिक ठगी अपराधमा थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सात दिन थुनामा राख्न अनुमति दिएको छ ।
पक्राउ पर्नेमा गोर्खा हर्बो बीजका रुद्रप्रसाद ढकाल, कस्मेटिक्स पसलका सञ्चालक भारतीय विकास गोयल, हर्बल सप नेपालका देवबहादु रायमाझी, सूर्यबहादुर रायमाझी, ग्रीन हर्वल एण्ड फिटनेश सपका मेजर सिंह, टेलिवन टिभी एण्ड अनलाइन सर्भिसका बाबुराम ढकाल, सुन्धाराको सिभिल मलमा रहेको कान्तिपुर टेलिसपका रत्न घिमिरे, मिनभवनस्थित टेलिमार्केट नेपालका वसन्ता सम्वाहाम्फे, तिनकुनेस्थित टेलिसेन्टरका विपिन बोलखे, सितारा हर्बलका यमनाथ पौडेल, शंकरदेव नजिकैको ग्लोबल टिभी सर्भिसका पवनकुमार भारती, नेचुरल टेलिसप सेन्टरका रविन खड्का, एसियन हर्बल होम फर्मका सुप्रभा केसी छन् ।