काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित क्रिकेट महोत्सवको आज उद्घाटन गरेकी छिन् । उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट ब्याट र बल प्रदान गरी शुुभारम्भ गरेकी हुन् ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजित दुईदिने उक्त महोत्सवमा पहिलो दिन ‘एक्जिविसन म्याच’ तथा राष्ट्रिय कलाकारबाट विशेष साङ्गीतिक प्रस्तुति दिइनेछ । महोत्सवमा क्रिकेट खेलसँग सम्बन्धित सामग्रीसम्बन्धी विभिन्न प्रदर्शनी कक्ष राखिएको छ ।
कार्यक्रममा युवा तथा खेलकूदमन्त्री राजनकुमार केसीले खेलकूदको माध्यमबाट स्वस्थ्य नागरिक उत्पादनका साथै अन्तर्राष्ट्रिय पहिचानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
सीमित स्रोत साधनका बाबजुद पनि सरकारले खेलकूद क्षेत्रको विकासलाई विशेष चासो दिएको उल्लेख गर्दै उनले नेपालमा आयोजना हुने आगामी दक्षिण एशियाली खेलकूद (साग)लाई लक्षित गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको बताए ।
महोत्सवमा पहिलो दिन ‘एक्जिविसन म्याच’का रुपमा राष्ट्रिय खेलाडी, राजनीतिक नेता, पत्रकार र कलाकारबीच प्रतियोगिता हुनेछ भने ‘ट्यालेन्ट हन्ट’ प्रतियोगितामा उपत्यकामा रहेका विभिन्न स्कूल, कलेज र युवा खेलाडीबाट करिब ५०० सहभागी रहनेछ ।
यीमध्ये उत्कृष्ट १० जनालाई एक वर्षसम्म विभिन्न एकेडेमीमा निःशुल्क प्रशिक्षण र क्रिकेट सामग्री पनि वितरण गरिने मदन भण्डारी स्पोर्ट क्लब क्रिकेट विभागले जनाएको छ ।
सो अवसरमा यसै वर्षबाट शुरु गरिएको मदन भण्डारी क्रिकेट सम्मान नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई नगद २५ हजार रुपियाँसहित सम्मान गरिएको छ । त्यस्तै क्रिकेट महोत्सवलाई सहयोग गर्ने सुनिल भण्डारीलाई पनि सम्मान गरिएको छ । दुवै सम्मान राष्ट्रपति भण्डारीले प्रदान गरेकी हुन ।