खेलाडीभन्दा अरु धेरै विदेश जाने प्रवृत्ति रोक्छुः खेलकुदमन्त्री

Advertisement

पोखरा । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले विधि र अनुशासनमा अगाडि बढ्ने हो भने नेपालको खेलले अन्तर्राष्ट्रिय पदक जित्न समस्या नहुने बताएका छन् ।

नेपाल कराते महासङ्घको आयोजना तथा सितोरियो कराते सङ्घ कास्कीको व्यवस्थापनमा भएको पाँचौँ राष्ट्रिय रेफ्री सेमिनार तथा रिफ्रेसमेन्ट कार्यक्रम आइतबार उनले पोखरा रङ्गशालामा उद्घाटन गर्दै उनले खेलकुदमा राजनीति गर्न नहुने बताए । 
    
अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रको ढुकुटी रित्याएर खेलाडीभन्दा व्यवस्थापकीय टिम बढी सहभागी हुने गरेको देखिएको भन्दै अब फेरि त्यस्तो देखिएमा मन्त्रालयले स्वीकृति नदिने श्रीपाइलीले बताए । उनले खेलाडी उच्च मनोबलसहित सङ्गठित भएर विदेश लाग्नुपर्ने बताए ।
    
नेपालमा हुने तेह्रौँ सार्कस्तरीय खेलकुदमा सफलता प्राप्त गर्नका लागि आधारशीला तयार गर्ने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औद्योगिक नगरी विराटनगरमा तोकिएकै समयमा हुनेगरी तयारी भइरहेको श्रीपाइलीले बताए । 
    
खेलकुदको प्रचुर सम्भावना रहेको पोखरामा पनि सार्कस्तरीय खेलकुदअन्तर्गतका केही प्रतियोगिता सञ्चालन गरिने जानकारी दिँदै उनले पोखरा रङ्गशालाको भौतिक निर्माणका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए । 
    
खेलाडीको वृत्तिविकासका लागि स्पोर्ट्स युनिभर्सिटी र बैंकको आवश्यकता औँल्याउँदै मन्त्री श्रीपाइलीले सार्कका साथै जापानमा हुने २०औँ ओलम्पिक प्रतियोगितामा पदक प्राप्त गर्नेगरी  खेलाडीको दक्षता अभिवृद्धि गरिने बताए । 
    
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले अनेकतामा नभई एकतामा खेलकुदको विकास हुने बताउँदै विगतको शिक्षा लिएर नयाँ पुस्तालाई अगाडि बढाउनुपर्ने बताए ।
    
सेमिनारमा नेपाल कराते महासङ्घका प्रमुख प्रशिक्षक महेश श्रेष्ठ, सहायक प्रमुख प्रशिक्षक तुलसी महार्जन, नेपाल कराते महासङ्घका रेफ्री संयोजक राजेन्द्र कपाली, अन्तर्राष्ट्रिय रेफ्री सरोज भट्ट, राष्ट्रिय प्रशिक्षक कुशल श्रेष्ठ र विजय लामाले प्रशिक्षण दिने  कार्यक्रममा मुलुकका २५० जनाको सहभागिता रहेको छ । रासस

Advertisement

 

Advertisement

Advertisement