गौचनको हत्यामा संलग्न नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

Advertisement

काठमाडौंः जिल्ला अदालत काठमाडौँले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

न्यायाधीश बाबुकाजी बाँनियाको इजलासले मंगलबार थुनछेक बहसपछि गौचनको हत्यामा संलग्न नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने र दुई जनालाई धरौटी छाड्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिए ।

अदालतले गौचनको हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतसहित हत्यामा संलग्न राजीव स्याङ्तान, शिवजी महतो कमकर, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी, बसन्त थेवे, धनराज योङहाङ र सूर्यबहादुर बाजीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । अदालतले राजकुमार साह रौनियार र श्याम गुप्तालाई धरौटीमा छोड्न आदेश दिएको छ ।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको संगठित अपराधमाथिको बहसपछि अदालतले सो आदेश दिएको हो । गौचनको गत असोज २३ गते बानेश्वरमा गोली हानी हत्या भएको थियो ।

Advertisement

Advertisement

Advertisement