काठमाडौं । न्यु डायमन्ड एकेडेमी र हेल्प नेपाल क्लवले तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिताको उपाधि जितेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा सोमबार भएको महिलातर्फको अन्तिम खेलमा नैकापको न्यु डायमन्ड एकेडेमीले विभागीय टोली नेपाल पुलिस क्लबलाई शुन्यका विरुद्ध तिनले पराजित गर्दै उपाधि जितेको हो ।
त्यस्तै पुरुषतर्फको अन्तिम खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि जितेको छ । नेपाल भलिबल सङ्घको वार्षिक क्यालेन्डरअनुसार भएको प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ १२ समूह र महिलातर्फ नौ समूहको सहभागिता थियो । प्रतियोगिताको पुरुष तथा महिलातर्फको उपाधि बिजेता न्यु डायमन्ड र हेल्प नेपालले ट्रफीसहित र जनही एक लाख २५ हजार रुपियाँ प्राप्त गरे भने उपविजेता नेपाल पुलिस क्लव र नेपाली सेनाले ७०÷७० हजार रुपियाँमा चित्त बुझाए ।
त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका एपिएफका महिला तथा पुरुष टोलीले रु ५०÷५० हजार प्राप्त गरे । प्रतियोगितामा महिलातर्फ न्यु डायमन्डकी प्रतिभा माली र पुरुषतर्फ हेल्प नेपालका शुभम चौधरी उत्कृष्ट खेलाडी घोषित भए । उनीहरूले १५÷१५ हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।
साथै, महिलातर्फ सेन्टरमा न्यु डायमन्डकी कृपा अधिकारी, डिफेन्समा न्यु डायमन्डकै सलिना श्रेष्ठ उत्कृष्ट घोषित भइन् भने स्पाइकरमा नेपाल पुलिसकी कोपिला उप्रेती र वेष्ट सर्भरमा टप्स पश्चिमाञ्चलकी अरुणा शाही उत्कृष्ट घोषित भए ।
त्यसैगरी पुरुषतर्फ बेष्ट स्पाइकरमा नेपाली सेनाका नरेन्द्र गिरी, सेटरमा हेल्प नेपालका विकास चौधरी, ब्लकरमा हेल्प नेपालकै शुभ सिंह, डिफेन्समा हेल्प नेपालका मोहन पुन र सर्भरमा सेनाका मानबहादुर श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । विधागत रूपमा उत्कृष्ट हुनेले जनही रु. पाँच हजारको पुरस्कार प्राप्त गरे ।
विजेता समूह तथा खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मा र महासचिव जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कृत गरेका थिए ।