काठमाडौं । विद्यालय क्षेत्रमा बम आतंक फैलाउन संलग्नहरुलाई तत्काल कडाभन्दा कडा कारवाही नगरिए आन्दोलनमा उत्रने निजी विद्यालय सञ्चालकहरुले चेतावनी दिएका छन् ।
निजी उच्चमाध्यमिक विद्यालयहरुको संगठन हिसान, निजी विद्यालयहरुको दुई संगठनहरु प्याब्सन र एनप्याब्सनले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी विद्यालयहरुमा बम पडकाउन संलग्नहरुलाई कडा कारवाहीको माग गर्दै त्यस्तो चेतावनी दिएका हुन ।
बम राखिएका विद्यालयको निरीक्षणपछि संयुक्त विज्ञप्तिसहित उनीहरुले पत्रकार सम्मेलन गरेका थिए । हिसानका अध्यक्ष रमेश सिलवालले शान्ति क्षेत्र घोषणा भएको विद्यालयमा बम पड्काउनु अपराधपूर्ण कार्य भएको बताए । शान्ति क्षेत्रमा यसरी बम आतंक हुनुमा राज्यको कमजोरी भएको उनको आरोप थियो ।
सिलवालले यस्ता घटना नियन्त्रणका लागि राज्य गम्भीर बन्न नसकेकोप्रति असन्तुष्टि जनाउँदै चन्दा आतंक, संगठन विस्तार जस्ता कुरा रोक्न सम्बन्धित निकायलाई आग्रह गरे । बम आतंक गराउनमा पढ्नका लागि विदेशमा विद्यार्थी पठाउन चाहने तत्वको समेत हात रहेको उनको आशंका थियो ।
प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बम आतंकका कारण विद्यार्थी र अभिभावक मनोवैज्ञानिकरुपमा त्रसित भएको भन्दै शान्ति क्षेत्रको रुपमा रहेका विद्यालयमा यस्ता घटना घट्नु दुखद भएको बताए ।
एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यालय क्षेत्रमा यस्ता घटना घट्नुमा शिक्षा मन्त्रालय दोषी रहेको आरोप लगाए । राजनीतिक आवरण वा कुनै दलको संगठनका नाममा निजी विद्यालयमाथि गम्भीर आक्रमण भइरहँदा पनि शिक्षा मन्त्रालय मौन बस्नु दुर्भाग्य भएको उनको तर्क छ ।