विद्यालयमा बम विष्फोट गराउने कारिन्दा पक्राउ गरे, योजनाकारहरु बेपत्ता

Advertisement

काठमाडौं । काठमाडौंका विभिन्न विद्यालयमा बम विष्फोट गराउने माओवादी कम्युनिष्ट केन्द्र र यसको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट केन्द्रसम्वद्ध कार्यकर्ताहरुमध्ये दुई पक्राउ परेका छन् । 

प्रहरीले राजनीतिक पार्टीका नाममा सङ्गठित अपराध गर्दै आएको समूहले विद्यालयहरुमा बम विष्फोट गराएको स्वीकार गर्दै त्यसमध्ये दुई जना रामेछाप दिमीपोखरीका शङ्कर लाखे र सिन्धुली लाम्पाङ्टारका चन्द्रबहादुर तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

Advertisement

पक्राउ परेका लाखेसहित आठ जनालाई गत साउन ६ गते काठमाडौँको डल्लुमा आइडियल मोडेल स्कुलको भ्यानमा आगजनी गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरी आगजनी मुद्दामा कारबाही चलाएकामा लाखे काठमाडौँ जिल्ला अदालतबाट साधारण तारेखमा छुटेको प्रहरीले जनाएको छ ।

घटनाको मुख्य योजनाकार विद्यार्थी केन्द्रका संयोजक मीन देवकोटा र योङ कम्युनिस्ट फोर्सका संयोजक सुमन श्रेष्ठ रहेको महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले जानकारी दिए । 

सो पार्टी तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा सहभागी हुनुअघि हतियारसहित भागेका लडाकूहरुले गठन गरेको भेटिएको आयुक्त थापाले जानकारी दिए । दलको आवरणमा विभिन्न आपराधिक गतिविधि गर्दै आएको सो समूहले विसं २०६९ मा सरकारसँग वार्तासमेत गरेको, विसं २०७१ मा आनन्दप्रसाद ढुङ्गानाको नेतृत्वमा नेपालगन्जमा सरकारलाई हतियार बुझाएको प्रहरीले जनाएको छ ।

विसं २०७१ असारमा कलङ्कीमा मनबहादुर चदराको यार्सागुम्बा लुट्ने कार्यमा संलग्न रहेको अभियोगमा सो पार्टीका अध्यक्ष देवन्द्र महत र महासचिव केशव दाहालसहित चार जनालाई परिसरबाट चोरी मुद्दा लगाएको खुलेकोे छ ।

घटनामा संलग्न अन्यको पनि पहिचान खुलेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । आज बिहान करिब ४ बजेको समयमा बौद्धको आकाशदीप बोर्डिङ स्कुल र मनकामना उमाविमा सो सूमहले सिलिण्डर बम विष्फोट गराएको थियो ।

त्यसैगरी नारायणटारको एम्बेस्डर स्कुल, इस्टपोल स्कुल र राई स्कुल, बौद्धको बालसञ्चार, डल्लुको कञ्चनजङ्घा र सानेपाको रेडियन्ट एकेडेमीमा पनि सो समूहले शङ्कास्पद वस्तु राखेकामा केही स्थानको बम निष्क्रिय गरिएको थियो । केही ठाउँमा नक्कली बम रहेको खुलेको छ । 

Advertisement

Advertisement