काठमाडौंः गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहाल रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले मङ्गलबार बालुवाटारबाट पक्राउ गरेको हो ।
दाहाललाई उनी कार्यरत संस्था नेपाल बिटुमिन एन्ड ब्यारेल लिमिटेडको १२ करोड ३५ लाख रुपियाँ हिनामिना गरेको आरोप लागेकाले पक्राउ गरिएको ललितपुरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए ।
कम्पनीबाट परेको उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । गीतकार दाहाल विसं २०४६ देखि अमलेखगन्जमा रहेको उक्त अलकत्रा कम्पनीको लेखा अधिकृतका रुपमा कार्यरत थिए ।
त्यहाँ रहँदा रकम हिनामिना भएको सूचना पाएपछि कम्पनीले उनीमाथि छानबिन अघि बढाएको थियो र दसैँअघि प्रहरीमा उजुरी गरेको थियो । गीतकार दाहाल दुईपटक गीतकार सङ्घको अध्यक्ष भइसकेका छन् । उनका ‘अक्षर’, ‘प्लेयर’, ‘स्मृति’, ‘यात्रा’, ‘यात्रा–२’, लगायत गीतिसङ्ग्रह प्रकाशित भएका छन् ।