काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । गणेश थापाको लामो एकाधिकारपछि एन्फाले नयाँ नेतृत्व पाएको हो ।
सोमबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी कर्माछिरिङ शेर्पालाई पाँच मतले पछि पार्दै श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन । यसैगरी वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ प्यानलकै मणि कुँवर विजयी भएका छन् ।
कुँवरले ३४ मत पाएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी शेर्पा प्यानलका दीपक खातीको पक्षमा २५ मत परेका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा वरिष्ठ उपाध्यक्ष उठेका पूर्व फुटबलर उपेन्द्रमान सिंहले आठ मत पाएका छन् ।
एन्फामा गणेश थापा पक्षधरहरु नै निर्वाचित भए लगत्तै अध्यक्षका प्रत्यासी शेर्पाले भने ठूलो आर्थिक चलखेल भएको गुनासो पोखेका छन् । तर उनले निर्वाचन परिणामलाई भने स्वीकार गर्ने बताए ।
यता नवनिर्वाचित अध्यक्ष श्रेष्ठले लोकतान्त्रिक प्रक्रियामा हार जित स्वाभाविक भएको भन्दै आर्थिक चलखेल भएको कुरालाई अस्वीकार गरेका छन् । उनले सबैलाई मिलाएर अघि बढ्ने पनि बताएका छन् ।