काठमाडौंः नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल)को ड्राफ्टमा परेका छन् । राष्ट्रिय टोलीका नियमित सदस्य १७ वर्षिय लेग स्पिनर सन्दिप वेष्ट इण्डिजमा हुने सीपीएलको ड्राफ्टमा परेका हुन् ।
उनी केही समय अगाडी मात्र भारतको इन्डियन प्रिमियर लिग (आईपीएल)को टोली दिल्ली डेयर डेभिल्समा अनुबन्ध भइसकेका छन् । सन्दिप वेष्ट इण्डिज क्रिकेट र्बोडले आयोजना गर्ने सिपीएल टि ट्वान्टि प्रतियोगिताको ड्राफ्टमा परेको हुन् ।
सीपीएलको आधिकारिक वेभसाईटमा सार्वजनिक भएको प्रेस विज्ञप्तिअनुसार सन्दिप पहिलो ड्राफ्टमा परेका हुन् । उनीसँगै पहिलो ड्राफ्टमा दुई सय २७ विदेशी खेलाडी रहेका छन् । नेपालसहित लिगमा दक्षिण अफ्रकिा, इंग्ल्याण्ड, अष्ट्रेलिया, जिम्बाबे, ओमान, बंगलादेश, पाकिस्तान, श्रीलंका, हङकङ, स्कटल्याण्ड, युएई, क्यानडा, अमेरिका, अफगानिस्तान, आयरल्याण्ड, इन्डिया लगाएत देशका खेलाडी पहिलो ड्राफ्टमा परेका छन् ।
सन्दिप आईपीएल टिम दिल्लीमा २० लाख भारुमा अनुबन्ध भएका छन् । आईपीएलमा छनोट भएपछि अन्य देशमा आयोजना हुने विदेशी प्रतियोगितामा पनि उनले अवसर पाउने पक्का छ ।
हाल उनी जिम्बावेमा हुने विश्वकप छनोट प्रयिोगिताको लागि जिम्बावे प्रस्थान गरिसकेका छन् ।