सौराहामा ‘हिमालयन ड्राइभ सिक्स’ मोटर र्यालीको स्वागत

Advertisement

चितवनः हिमालयन ड्राइभ छ त्रिदेशीय मोटर र्यालीको शनिबार स्वागत गरियो । नेपाल, भारत र भुटानका प्रतिस्पर्धी सहभागी र्यालीलाई शनिबार बिहान सौराहामा स्वागत गरिएको हो ।

चितवनपछि र्याली आइतवार भारतका लागि प्रस्थान गरेको छ । चितवन अटोमोबाइल डिलर्स एसोसिएसनले आयोजना गरेको स्वागत कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष, रत्ननगर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष, एसोसिएसनका अध्यक्ष लगायतको उपस्थिति थियो ।

सोही अवसरमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन सौराहाले र्यालीमा सहभागीहरुलाई खादा र टीका लगाएर स्वागत गरेको थियो । देवघाट क्षेत्रमा समेत हिजै टोलीलाई देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले रामजानकी बालिका आश्रमका बालिकाहरुलाई स्वस्ती वाचन गराउँदै स्वागत गरेका थिए ।

र्यालीलाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का अध्यक्ष दशरथ रिसालले समेत स्वागत गरेका थिए । त्रिदेशीय खेल पर्यटनको विकास गर्ने उद्देश्यसहित भारतको सिलगुडीबाट छौठौँ संस्करणको हिमालयन ड्राइभ छ त्रिदेशीय मोटर र्याली शुक्रबारदेखि सुरु भएको हो ।

र्याली भारतको सिलिगुडी हुँदै सौराहा आएर अब भुटानको फुन्सोलिङबाट दार्जिलिङमा आई सकिने छ । भारतको जस्ट स्पोर्ट्ज म्यानेजमेन्ट प्रालि र नेपाल अटोमोबाइल्स स्पोर्ट्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटर स्पोर्ट्स क्लबले र्यालीको आयोजना गरेको हो ।

प्रतिस्पर्धामा नेपालकासहित भारत र भुटानका गरि ४२ वटा कार सहभागी भएका छन् । उपाधि जित्नेले एक लाख भारु, दोस्रो हुनेले ७५ हजार भारु र तेस्रो हुनेले ५० हजार भारु नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Advertisement

Advertisement

Advertisement